धरान । स्वास्थ्य उपचार र चिकित्सकीय शिक्षा प्रदान गर्दै आएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गत चैत २५ गतेदेखि उपकुलपतिविहीन बनेको छ । १३ महिना निलम्बनमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पाँच वर्षे कार्यकाल सकिए पछि प्रतिष्ठान उपकुलपतिविहीन भएको हो । प्रतिष्ठानको उपकुलपति पद खाली भएसँगै उपकुलपतिमा नियुक्ति लिनका लागि दौडधुप सुरु भएको छ । उपकुलपतिका आकाङ्क्षीहरू मन्त्रालय, राजनीतिक पार्टीका नेताहरूको घरदैलोमा धाउन थालेका छन् । स्वास्थ्य मन्त्रालयले तत्काल दैनिक काम कारबाहीका लागि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्मालाई जिम्मेवारी दिएको छ ।
प्रतिष्ठानको विगत
२०५१ सालमा स्थापना भएको प्रतिष्ठानको सुरुमा उपकुलपति डा. शेखर कोइराला र त्यसपछि प्रा. डा. लोकविक्रम थापा भएका थिए । उनीहरूको कार्यकालमा कुनै विवाद भएन । २०६९ पुसमा प्रा. डा. बलभद्रप्रसाद दास उपकुलपति बन्दादेखि सरकारमा रहेका मन्त्री र मन्त्रीका निकटस्थ नेताहरूलाई ‘ब्रिफकेस’ बुझाउने प्रवृत्ति मौलाएसँगै प्रतिष्ठान ओरालो लागेको छ । प्रा.डा. दासले ठूलै धनराशि खर्च गरेर आफूभन्दा सिनियरलाई पछि पारेर उपकुलपति बनेको चर्चा चलेको थियो । यद्यपि उनले सरकारबाट बजेट ल्याएर भौतिक निर्माणका लागि केही महŒवपूण योगदान भने दिएका थिए । भवन निर्माण तथा अन्य ठेक्कापट्टाका काममा उनी पनि विवादित बनेर अख्तियार दुरुपयो अनुसन्धान आयोगको छानबिनमा परे । उनको पाँच वर्षे कार्यकाल सकिएपछि प्रा.डा. राजकुमार रौनियार उपकुलपति बने । तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई ठूलो रकम बुझाएर नियुक्ति लिएको त्यतिबेला चर्चा चल्यो । निर्माण ठेकेदारबाट घूस लिएको आरोपमा अख्तियार अनुसन्धान आयोगले उनलाई पक्राउसमेत ग¥यो । निर्दोष भएको भनेर विशेष अदालतले ‘क्लिन चिट’ दियो तर उनको कार्यकाल समाप्त भइसकेको थियो ।
उनी निलम्बनमा परेपछि केही समय प्रा.डा. गुरुप्रसाद खनालले कार्यवाहकका रूपमा पद सम्हाले । उनको कार्यकाल छोटो भएका कारण ठूलो मुद्दाको झमेलामा फस्न पाएनन् । ‘२०७६ साल चैत्र २७ गते नेकपा (एमाले) को सिफारिसमा विराटनगरका निजी अस्पताल सञ्चालक डा. ज्ञानेन्द्र गिरी उपकुलपतिमा नियुक्त भए । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आशीर्वादमा नियुक्ति पाएका डा. गिरी आफ्नो नामको अगाडि हँुदै नभएको ‘प्राध्यापक’ लेखेर निलम्बनमा परे । १३ महिनाको निलम्बनपछि विशेष अदालतद्वारा सफाइ पाएर पुनः उपकुलपतिमा फिर्ता भएका थिए । उनीविरुद्ध अन्य भ्रष्टाचारका मुद्दा पनि रहेका छन् । निलम्बनको अवधिमा प्रतिष्ठानकै पुराना चिकित्सक मुटु रोग विशेषज्ञ प्रा.डा. प्रह्लाद कार्की कायममुकाय उपकुलपति भए । प्रा.डा. दासका पालादेखि मन्त्रीलाई ब्रिफकेस बुझाउने चलन सुरु भएपछि प्रतिष्ठानको उपकुलपति पद ‘बिक्री’ हुँदै आएको छ । ‘खरिद–बिक्री’ प्रवृत्तिले प्रतिष्ठानमा भएको अनियमितता, ठेक्कापट्टामा व्यापारी पोसाउने परिपाटीले यहाँ चिकित्सक, शिक्षक र कर्मचारीहरूले समयमा तलबसमेत पाएका छैनन् । आम्दानीका स्रोत घट्दै गएको अवस्था छ ।
उपकुलपतिको दौडमा रहेका चिकित्सकहरू
डा. गिरीको बहिर्गमनसँगै उपकुलपतिका लागि दौडधुप सुरु भएको छ । बीपी प्रतिष्ठान र प्रतिष्ठानबाहिरका चिकित्सकहरू पनि लाइनमा छन् । मुलुकका अन्य स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालयहरूभन्दा बढी बीपी प्रतिष्ठानको उपकुलपति हुन लाइनमा लाग्ने गरेका छन् । तर राजनीतिक नियुक्ति त्यो पनि ‘आर्थिक चलखेल’ मा नियुक्ति हुन थालेपछि प्रतिष्ठान बदनाम मात्र होइन, आर्थिकरूपमा धरासायी बन्दै गएको छ ।

यो पटक प्रतिष्ठानको उपकुलपतिमा स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेलदेखि बीपी प्रतिष्ठानका पुराना चिकित्सकहरू लाइनमा छन् । डा. रोशन नेपाली काङ्ग्रेसको कोटामा उपकुलपति हुने लाइनमा छन् । उनी शक्तिकेन्द्र धाउन थालिसकेको स्रोतले बताएको छ । केही समयअघि धरान आएका काङ्ग्रेसका महामन्त्री गगन थापाले पनि स्थानीय नेता तथा कार्यकर्ताहरूलाई रोशनको नाम बताएर गएको काङ्ग्रेसनिकट स्रोतले बताएको छ ।
यता १३ महिना निलम्बनमा परेको र कोभिडका कारण राम्रो काम गर्न नपाएको भन्दै डा. ज्ञानेन्द्र गिरी फेरि दोहो¥याउन शक्तिकेन्द्र धाइरहेका छन् । नेकपा (एमाले)को कोटाबाट उपकुलपति बनेका गिरीले फेरि एमालेका नेताहरूकोमा धाउन थालेको स्रोतले बताएको छ । उपकुलपति हुँदा गिरीले पार्टीसँग कुनै समन्वय नगरेको स्थानीय पार्टी नेता बताउँछन् । तर केन्द्रीय नेताहरूसँग लाइन मिलाएर फेरि उपकुलपति बन्ने दौडमा रहेको पाइएको छ ।
राप्ती तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पटक–पटक उपकुलपति भइसकेकी प्रतिष्ठानकै नाक–कान–घाँटी विभागकी विशेषज्ञ चिकित्सक प्रा.डा. सङ्गीता भण्डारी पनि प्रतिस्पर्धामा छिन् । उनी खरो स्वभावकी मानिन्छिन् । ती संस्थामा हुँदा उनको कार्यशैलीका कारण विवादितसमेत बन्दै आएकी थिइन् । आफूले काम गरेको संस्थामा एक पटक उपकुलपति हुने उनले इच्छा देखाएकी छन् । प्रतिष्ठानबाट एक वर्षअघि अवकास पाएका मुटु रोग विशेषज्ञ प्रा.डा. प्रह्लाद कार्की फेरि एकपटक उपकुलपति हुने चाहानामा छन् । भण्डारी र कार्की श्रीमान् श्रीमती हुन् । उनीहरू काङ्ग्रेसनिकट मानिन्छन् ।
डा. रोशन नहँुदा भण्डारी र कार्कीमध्येबाट काङ्ग्रेसले सिफारिस गर्ने स्रोतले बताएको छ । उपकुलपतिको दौडमा रहेका माओवादी निकट हाडजोर्नी विशेषज्ञ र पूर्व शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनालको सम्भावना भने हाल काङ्ग्रेस र एमालेको सरकार रहेकाले न्यून रहेको बताइन्छ । अर्का हाडजोर्नी विभागका प्रा.डा. पशुपति चौधरी पनि दाबेदार हुन् । गङ्गालाल हृदय रोग केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला पनि आकाङ्क्षी हुन् ।
प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ र हालका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीवकुमार शर्मा भने प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन भिजन भएको व्यक्ति आवश्यक भएको बताउँछन् । उनीहरू दुवै दाबेदार हुन् ।
प्रा.डा. शर्माले हाल निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन् । प्रतिष्ठान आर्थिकरूपमा जर्जर बनेका कारण सरकारसँग समन्वय गर्ने र सबैलाई मिलाएर लान सक्ने व्यक्तिको आवश्यकता प्रतिष्ठानलाई आवश्यक भएको उनी बताउँछन् । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उनी ख्यातिप्राप्त मानिन्छन् । उनी मुटु, मिर्गाैला र सर्पदंशको उपचारका विज्ञ पनि हुन् । उनलाई कुशल प्राध्यापक, लोकप्रिय चिकित्सक, अन्तर्राष्ट्रिय सम्बन्ध गाँस्न र दातृ निकायसँग समन्वय गर्ने दक्ष व्यक्तित्वको रूपमा लिने गरिन्छ ।
केएचडिसी (किड्नी–हाइपरटेन्सन–डाइबिटिज–कार्डियो भास्कुलर) सामुदायिक संस्थामार्फत् कोशी प्रदेशका अधिकांश जिल्लामा शर्माले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । उनी आर्थिक अनियमिततामा नमुछिए पनि उनको निर्णय क्षमतामा भने प्रश्न उठ्ने गरेको छ ।
लामो समयदेखि बीपी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख रहेर विवादरहित काम गरेका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ उपकुलपतिको दौडमा रहेका अर्का व्यक्ति हुन् । प्रतिष्ठानको एक कार्यकाल शिक्षाध्यक्ष भएर उनले कुशलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेका छन् । उनी निर्णय तथा कार्यान्वयनमा ढिलासुस्ती मन नपराउनेका रूपमा चिनिन्छन् । आर्थिकरूपमा सबल श्रेष्ठ हालसम्म आर्थिक विवादमा मुछिएका छैनन् ।
कस्तो हुनुपर्छ प्रतिष्ठानको उपकुलपति ?
बीपी प्रतिष्ठानको उपकुलपति हुनका लागि राज्यले पनि एउटा योग्यता तोकेको छ । उपकुलपतिका लागि उच्च शैक्षिक उपाधिसँगै शिक्षण, प्रशासन र अनुसन्धानमा अनुभवी व्यक्तित्व हुनुपर्नेछ । तर विगतमा अनुभव र योग्यतालाई भन्दा राजनीतिक निकटता र नेता कार्यकर्ताहरूलाई रिझाउन सक्नेलाई उपकुलपतिमा सरकारले नियुक्त गर्दा प्रतिष्ठानको अवस्थामा खासै सुधार आउन सकेन । पैसा खर्च गरेर उपकुलपति बन्ने परिपाटीले उपकुलपति भइसकेपछि आफूले खर्च गरेको पैसा उठाउनतिर लाग्दा प्रतिष्ठान ओरालो लागेको छ ।
यसअघिका उपकुलपतिहरूमाथि कुनै न कुनै मुद्दा अख्तियारमा रहेका छन् । कतिपयको अझै फैसला हुन बाँकी नै छ । यसअघिका उपकुलपतिहरू विवादित भएकाले अब आउने उपकुलपति विवादरहित, प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षाको उन्नतिका लागि काम गर्ने व्यक्तित्व आवश्यक भएको धेरैको सुझाव छ ।
प्रतिष्ठानको उद्देश्य र लक्ष्य अनुरूप संस्थालाई प्रभावकारी रूपमा नेतृत्व गर्नसक्ने क्षमता भएको यही प्रतिष्ठानका अनुभवी व्यक्तिको आवश्यकता हुने सङ्घीय प्रतिनिधि सभाका पूर्व सदस्य जयकुमार राई बताउँछन् । यसमा दीर्घकालीन दृष्टिकोण, निर्णय क्षमता, र समस्याको समाधान गर्ने क्षमता भएको प्रशासनिक व्यक्ति यही प्रतिष्ठानभित्रबाट नियुक्ति हुनु पर्ने उनको सुझाव छ ।
उपकुलपतिले उच्च नैतिक मापदण्ड पालना गर्नुपर्छ । विगतमा भ्रष्टाचार वा अनियमिततामा संलग्न नभएको प्रमाणित हुनु आवश्यक छ । यहाँ केही दाग नलागेका राम्रा र अनुभवी चिकित्सक छन् । उनीहरूलाई प्राथमिकता दिनु पर्दछ’– धरानका स्थायी बासिन्दासमेत रहेका राईले भने ।
धरान उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्षसमेत रहेका नेपाली काङ्ग्रेस नगर उपसभापति नरेन्द्रकुमार राई(प्रविण) ले जहाँको व्यक्ति भए पनि बीपी प्रतिष्ठान बुझेको प्रशासन चलाउन सक्ने हिम्मतवाला व्यक्ति आवश्यक भएको बताए । प्रतिष्ठानको गिर्दो साखलाई पुनर्जीवित गर्ने व्यक्ति आवश्यक भएको उनको भनाइ छ ।
प्रतिष्ठानलाई बुझेको, प्रशासन हाँक्ने, चिकित्सक र कर्मचारीहरूसँग मिलेर काम गर्न सक्ने व्यक्तिको आवश्यकता रहेको प्रतिष्ठानका डिनसमेत रहेका प्रा.डा. जीवेन्द्र झा बताउँछन् । ‘समस्यामा परेको प्रतिष्ठानलाई ब्यँुझाउने नेतृत्व चाहिएको छ’– प्रा.डा. झाले भने ।
प्रतिष्ठानको उपकुलपति चयन गर्दा शैक्षिक योग्यता, नेतृत्व क्षमता, नैतिकता, पारदर्शिता, र सामाजिक प्रतिबद्धताजस्ता पक्षहरूमा विशेष ध्यान दिनुपर्ने प्रतिष्ठानभित्रका चिकित्सक र कर्मचारीहरूको समेत सुझाव रहेको छ । संस्थाको दीर्घकालीन विकास र यहाँका विद्यमान समस्याहरूप्रति जानकार व्यक्तिको आवश्यकता रहेको धेरैको सुझाव छ ।
समस्याको जड
वार्षिक करिब ३ अर्ब रुपैयाँ कारोबार हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यतिबेला २ हजार ४ सय चिकित्सक–शिक्षक, नर्स र कर्मचारीले तलब पाउन समस्या हुँदै आएको छ । आर्थिक अभावले समस्यामा परेको प्रतिष्ठानको कुलपति नेपाल सरकारको प्रधानमन्त्री र सह–कुलपति स्वास्थ्यमन्त्री हुने चलन भए पनि चिकित्सक र कर्मचारीको तलब भत्ता र सेवा सुविधा अर्थ मन्त्रालयको बजेट योजनामा पर्दैन । प्रतिष्ठान आफैले जुटाउनु पर्ने बाध्यता छ । सरकारले नियुक्ति गर्ने उपकुलपति सोर्सफोर्समा आउँदा त्यही नियुक्ति गर्नेप्रति जिम्मेवार हुने तर प्रतिष्ठानप्रति जिम्मेवार नहुँदा प्रतिष्ठान आर्थिक सङ्कटमा पर्दै गएको छ ।
प्रतिष्ठान सञ्चालनका लागि चार पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक जिम्मेवार हुने प्रतिष्ठानको ऐन र कार्यविधिले तोकेको छ । तर उनीहरू नियुक्ति गर्नेप्रति मात्र बढी जिम्मेवार हुँदा प्रतिष्ठान समस्यामा पर्दै आएको जानकारहरू बताउँछन् । भागबण्डामा पाएको नियुक्तिकै कारण प्रतिष्ठानका चार पदाधिकारीहरूको पाँच वर्षे कार्यकाल एक–आपसमा बेमेलसँगै बित्ने गरेको छ ।