विराटनगर । शिक्षक आन्दोलनको कारणले कोशी प्रदेशको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय विराटनगरको गोदाममा ठूलो सङ्ख्यामा पुस्तक थन्किएर बसेको छ ।
जनक शिक्षाको प्रादेशिक कार्यालयको गोदाममा सोमबारसम्म पाँच लाख ५८ हजार सेट पुस्तक थन्किएको पाइएको छ । सामुदायिक विद्यालयहरू आन्दोलनका कारण बन्द हुँदा पुस्तक गोदाममै थन्किएको हो ।
गतवर्षको तुलनामा यस वर्ष पुस्तकको खपत निकै घटेको कार्यालयले जनाएको छ । जसको मुख्य कारण सामुदायिक विद्यालयका शिक्षकहरूले जारी राखेको आन्दोलन हो । कार्यालय प्रमुख भूपराज थापाका अनुसार यस वर्ष हालसम्म १३ लाख ४ हजार ५ सय १० सेट पुस्तक विक्रेताले लगेका छन् । तर गोदाममा अझै ठूलो सङ्ख्यामा पुस्तक थन्किएको छ । ‘गतवर्ष वैशाख १५ सम्म १५ लाख सेट पुस्तक विक्रेताले लगेका थिए, तर यो वर्ष शिक्षक आन्दोलनका कारण मागमा कमी आएको छ’–थापाले भने ।
१३ जिल्लामा पुस्तक आपूर्ति तर माग घट्यो
कोशी प्रदेशका १२ जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लाका सामुदायिक विद्यालयहरूका लागि जनक शिक्षा सामग्री केन्द्र विराटनगर कार्यालयबाट पाठ्यपुस्तक आपूर्ति हुने गरेको छ । सामान्यतया यी जिल्लाहरूमा १५ लाख सेट पुस्तक खपत हुने गरे पनि यस वर्ष त्यो सङ्ख्या घटेर १३ लाखमा सीमित भएको छ ।

जिल्लागत पुस्तक वितरण विवरणअनुसार मोरङमा २ लाख १३ हजार ३ सय ३१ सेट, सुनसरीमा २ लाख ५९ हजार ४ सय २५ सेट, धनकुटामा ४२ हजार ५८ सेट, तेह्रथुममा ७६ हजार ८ सय ३४ सेट, भोजपुरमा ८१ हजार ९५ सेट, झापामा २ लाख ५२ हजार ८ सय १४ सेट बिक्रेताले लगेका छन् ।
त्यसैगरी इलाममा ७५ हजार ६ सय ८८ सेट, पाँचथरमा ६१ हजार ६ सय ३४ सेट, ताप्लेजुङमा ४८ हजार २ सय १९ सेट, खोटाङमा ८ हजार ८ सय ४ सेट, उदयपुरमा १ लाख ११ हजार २ सय ३२ सेट र मधेश प्रदेशको सप्तरीमा २ हजार ९ सय २१ सेट पुस्तक बिक्रेताले बिक्री गरेका छन् । थापाका अनुसार पहिलो चरणमा सबै जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न भइसकेको छ । ‘तर, विशेषगरी तराई क्षेत्रका जिल्लाहरूमा विद्यालयहरू बन्द भएकाले खपत कम भएको हो’–उनले भने ।
गत चैत २० गतेदेखि काठमाडौंमा सुरु भएको राजधानी केन्द्रित आन्दोलनमा सामुदायिक विद्यालयका शिक्षकहरू व्यापकरूपमा सहभागी भएका छन् । उनीहरूले शिक्षा विधेयक जारी गर्न माग गर्दै विद्यालय बन्द गरिरहेका छन् । आन्दोलनका कारण विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानसमेत अवरुद्ध भएको छ ।
सरकारले वैशाख २ गतेदेखि देशभर नयाँ भर्ना अभियान सुरु गरे पनि आन्दोलनका कारण त्यसमा प्रत्यक्ष असर परेको छ । सामुदायिक विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरू पुस्तकरहित हुन पुगेका छन् ।
जनक शिक्षा सामग्री केन्द्रले यसवर्ष समयमै पाठ्यपुस्तक छपाइ र वितरण कार्य सम्पन्न गरेको छ । चैत १२ गतेदेखि २५ गतेसम्म ७७ वटै जिल्लामा पुस्तक बिक्री वितरण गरिसकिएको छ । कार्यालय प्रमुख थापाले भने, ‘दुई वर्षअघिसम्म समयमै पुस्तक नपुग्ने समस्याले सरकारलाई आलोचनाको सामना गर्नुपरेको थियो । तर, अहिले भने समयमा पुस्तक वितरण भएको छ ।’
उनले थपे, ‘यदि कतै विद्यालयमा पाठ्यपुस्तक नपुगेको छ भने हामी तत्काल सम्पर्क गरेर पुस्तक उपलब्ध गराउन तयार छौँ ।’
विराटनगरमा नयाँ भर्ना अभियान ठप्प
विराटनगर महानगरपालिकामा रहेका ५६ सामुदायिक विद्यालय हाल बन्द छन् । महानगरपालिकाभित्रका विद्यालयहरूले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म नयाँ भर्ना स्थगित गरिएको जानकारी दिएका छन् ।
आदर्श, पोखरीया, सत्यनारायणलगायतका चर्चित विद्यालयहरूले पनि भर्ना अभियान स्थगन गरेका छन् । महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईका अनुसार विराटनगरका ५६ सामुदायिक विद्यालयहरूमा करिब ३० हजार विद्यार्थी अध्ययनरत छन् । तर हाल शिक्षक आन्दोलनका कारण विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरू अन्योलमा परेका छन् ।
शिक्षक आन्दोलन अझै लम्बिने देखिएको छ । यदि चाँडै समाधान नखोजिए विद्यालय सञ्चालन मात्र होइन, सम्पूर्ण शैक्षिक कार्यक्रम अस्तव्यस्त हुने खतरा बढेको छ । नयाँ भर्ना अभियान प्रभावित हुँदा विद्यार्थीको भविष्य र शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ । शिक्षकहरू आफ्ना मागमा अडिग छन् भने सरकार समाधान खोज्ने प्रयासमा देखिए तापनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन । यदि आन्दोलन लम्बिँदै गयो भने केवल पाठ्यपुस्तक वितरणमा मात्रै समस्या बढ्ने छैन कि सम्पूर्ण शैक्षिक प्रणाली नै प्रभावित हुने निश्चितप्रायः देखिन्छ ।