धरान / सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै ठूला दलहरुका स्थानीय नेताहरुमा ‘चुनावी सरगर्मी’ सुरु भएको छ ।

सबैजसो राजनीतिक दलहरुले आफ्नो संगठन दर्विलो बनाउनको लागि वडागत भेला तथा कार्यकर्तासँग भेटघाटलाई तिब्रता दिन थालेका छन् । विशेष गरेर ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई भेट्ने, वडागत भेला गर्ने काममा तल्लिन हुन थालेका छन् ।

चुनाव आफ्नो पक्षमा पार्नको लागि कार्यकर्ता भेला गर्दै कार्यकर्ताहरुलाई चुनाव लक्षित कार्यक्रम गर्नको लागि निर्देशन दिन थालिसकेका छन् । बैसाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारीमा ठूला दलहरुसमेत सक्रिय हुन थालेका हुन् । प्रतिपक्षमा रहेको एमालले चुनाव लक्षित तथा संविधान संसोधनको विरोध गर्दै मेची महाकाली अभियान नै थालिसकेको छ ।

त्यस्तै अगुवा कार्यकर्ता भेला, वडागत रुपमा संगठन विस्तारका कार्यक्रमहरु तिब्र रुपमा सूचारु गरेका छन् । केही दिन अघि एमालेले महासचिव इश्वर पोखरेलेको उपस्थितिमा विशेष इलाका भेलासमेत गरिसकेको छ । ‘त्यो पनि चुनाव लक्षित कार्यक्रम कै एउटा रुप हो ।’ धरान उपमहानगर विशेष इलाका कमिटीका अध्यक्ष तारा सुब्बाले भने । उनका अनुसार अहिले पार्टीले थालेको मेची(महाकाली अभियान पनि चुनावलाई नै लक्षित गरेर गरिएको हो । पार्टीले वार्ड वार्डमा संगठन विस्तारको कामलाई तिब्रता दिएको उनले बताए । दुई दशकदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनताको आधारभूत आवश्यकताको परिपूर्ती हुन सकेको थिएन । जसका कारण पनि निर्वाचन आवश्यक थियो । निर्वाचनको तिथिमिति तोकिएलगत्तै कार्यकर्ताहरुको चहलपहल सुरु हुन थालेको छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि अहिले अगुवा कार्यकर्ताहरुलाई भेटघाट गर्ने कार्य तिब्र पारेको छ ।

कांग्रेसका नगर सभापति तिलक राई भन्छन्, ‘हामीले अहिले अगुवा कार्यकर्ताहरुलाई भेट गर्ने काम गरिरहेका छौं ।’ कार्यकर्ताहरुलाई चलायमान बनाउनको लागि पार्टीले विभिन्न गतिविधिहरुलाई अघि बढाइरहेको उनले बताए । केन्द्रीय तहबाट कुनै आधिकारिक धारणा सार्वजनिक नभए पनि स्थानीय तहको हकमा भने पार्टीहरु लागि परेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय तहबाट चुनाव लक्षित कार्यक्रम सार्वजनिक नभए पनि स्थानीय तहको हकमा कार्यक्रमहरु गरिरहेका छन् । धरान उपमहानगर इन्चार्ज चोत्लुङ भन्छन्, ‘प्रदेशको बैठक भरखरै मात्रै सकियो, केन्द्रीय लेभलबाट अहिले नै आधिकारिक कुरा आइसकेको छैन् । तर, स्थानीय तहमा सांगठानिक कामहरु भइरहेका छन् ।’ केन्द्र पनि स्थानीय तहमा चुनावी तयारीमा लागिसकेको उनले बताए ।

अहिले मेयर, उपमेयर कसलाई बनाउने भन्ने खेल समेत सुरु भइसकेको छ । पूर्वका कतिपय उपमहानगर, नगरपालिकाहरुमा मेयर, उपमेयरको दौड सुरु भइसकेको छ । आ आफ्नो नामहरु सार्वजनिक गरिसकेका छन् । तर, धरानको हकमा अहिलेसम्म आधिकारिक नामहरु सार्वजनिक भएका छैनन् । पार्टी पंक्तिबाट हुने निर्णयलाई नै सिरोधार्य गरेर अघि बढ्ने स्थानीय नेताहरुले बताउँदै आइरहेका छन् ।

कांग्रेसका नगर सभापति राईले मेयरको लागि पार्टीले योग्यलाई टिकट दिएर अघि बढ्ने बताए । उनले लामो समयदेखि राजनीतिमा होमिएका साथीहरुले पनि इच्छा देखाइरहेकाले योग्य र सक्षमलाई टिकट दिने बताए । ‘धेरै साथीहरुको अपेक्षा मप्रति पनि छ ।’ उनले भने, ‘सभापति भएको नाताले हक पनि मेरै हो । तर, लामो समयदेखि पार्टीमा राजनीति गर्ने साथीहरु पनि हुनुहुन्छ ।’

एमाले विशेष इलाका कमिटीका अध्यक्ष सुब्बा भन्छन्, ‘राजनीतिक गर्ने मान्छे भएकाले पार्टीले योग्य ठानेमा आफ्नो दाबेदारी रहन्छ ।’ त्यस्तै चोत्लुङले पनि पार्टीको निर्णयलाई सिरोधार्य गरेर अघि बढ्ने बताए । कतिपय कार्यकर्ताहरु मै चुनाव होला/नहोला भन्ने द्धिविधा रहेको छ । जसका कारण कार्यकर्ताहरुलाई विश्वास दिलाउने कार्यमासमेत स्थानीय नेताहरु लागेका छन् । अहिले ठूला दलहरु मात्रै होइनन्, साना दलहरु पनि निर्वाचनमा होमिदै गएका छन् ।

इटहरी मेयरकाे चर्चामा काे छ ?