धरान/ ‘बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति’ को नारा अघि सार्दै सन् २०१२ देखि सुरु भएको मिस लिम्बू व्युटि पेजेन्ट अहिले चौथो संस्करणमा उभिएको छ । अहिले अडिसन धमाधम हुँदै छन् । miss धरानमा यसको अडिसन साउन २४ गते तोकेको छ । याक्थुम युथ एसोसिएसले यो व्युटि प्याजेन्ट गर्दै आएको छ । यो व्युटि प्याजेन्टको अवधारणा ल्याउन गीतकार मिना सिंगक, म्युजिक डाइरेक्टर युगल पोमो र पत्रकार विश्व लिम्बूले लामै कसरत गरे । के गर्ने ? भन्ने बहस उनीहरु बीचमा केही समयसम्म मन्थन भइरह्यो । त्यही मन्थनबाट जन्मिएको मिस लिम्बू व्युटी पेजेन्ट यतिखेर बामे सर्दै स्टाबलिसको चरणमा छ । गीतसंगीतका पारखी, पत्रकारितासँग जोडिएका यि पात्रहरु ‘नयाँ केही गरौं न त ?’ भन्ने सोचेरै पहिचानको खोजी भइरहेको अवस्थामा मिस लिम्बू गर्ने अन्तिम निर्णयमा पुगे । त्यही निर्णय यतिखेर अविराम रुपमा अघि बढ्दै छ । मिस लिम्बूका तीन संस्करणबाट पाएको उपलब्धीले पनि अयोजक टोली हौसिएको छ । ‘यति धेरै उपलब्धी हुन्छ होला भन्ने नै सोचेका थिएनौं ।’ एसोसिएसनकी उपाध्यक्षसमेत रहेकी गीतकार सिंगक भन्छिन् । १६ देखि २५ वर्षसम्मका युवतिहरुलाई प्लेटफर्मको रुपमा प्रदान गर्ने मिस लिम्बूमा सहभागीहरुलाई बाटो देखाउने प्रमुख उद्देश्य रहेको उनी बताउँछिन् । ‘के गरौं, कसो गरौं भन्ने उमेरका युवतिहरुलाई बाटो देखाइदिने कार्य यो पेजेन्टले गरेको छ ।’ उनी भन्छिन् । मोडलिङमा भविश्य देख्नेहरुको लागि अवसरको ढोका खोल्छ मिस लिम्बूले । मिस लिम्बूबाटै अहिले नाम कमाउँदै गएकी निशा पोमू, रेखा फागोको चर्चा धरानमा मात्रै हैन, देशभर नै हुने गरेको छ । मिस लिम्बूबाटै उनीहरु यो स्थानसम्म आइपुगेका छन् । मोडलिङ, डान्समासमेत अब्बल पोमू यतिखेर काठमाडौंमा व्यस्त मोडलमा मानिन्छिन् । त्यस्तै रेखासमेत नेपाली फिचर फिल्ममा डेब्यु गर्दै आफूलाई नायिकाको रुपमा उभ्याइसकेकी छन् । मिस लिम्बूकै कारण यतिखेर आयोजक मात्रै हैन, लिम्बू मोडलहरुको माग देशविदेशदेखि आउने गरेको छ । त्यसैमध्येको पर्ने मिस लिम्बू पहिलो सस्करणकी विजेता निलिमा मादेन विदेशहरुमासमेत आफूलाई चिनाउन सफल भएकी छन् । लिम्बूको कलाकौशल मात्रै हैन, भाषा संस्कृति र पहिरनहरुसमेत देखाइने हुँदा पनि यसको महत्व लिम्बू समूदायसँगै अन्य समूदायहरुमा पनि ‘संस्कार सँस्कृति’ हेर्ने थलो बन्दै गएको छ । विशेष गरी कण्ठ, शीरबन्दी, शीरफूल, चन्द्राहार, ढुङ्ग्री, बुलाकी, चौबन्दी चोलो, साडी, मेख्लीको फेसन हेर्न पाइन्छ । ‘संस्कृति जान्नको लागि पनि केही मद्दत पु¥याउँछ यो पेजेन्टले ।’ उनी भन्छन् । मिस लिम्बूको काठमाडौं अडिसन साउन ३१ गते अडिसन हुँदैछ भने असोज ४ गते फाइलन हुँदै छ ।