उर्लाबरि:अमेरिकाको माइनमा श्रीमती बोकेर दौडिने प्रतियोगिताका विजयीले बीयर र नगद पुरस्कार जितेका छन् ।

वेस्टब्रूकका एलियट र जियाना स्टोरीले प्रतियोगितामा जीतस्वरूप गूज आइल्यान्ड अक्टोबरफेस्ट बीयर र लगभग ७१ हजार रुपैयाँ जितेका थिए ।
स्टोरी जोडीले २५० मिटरको दौड ५९.१८ सेकेन्डमा पूरा गरेका थिए । जियानालाई उनको तौल बराबर बीयर र तौलभन्दा पाँच गुणा बढी नगद पुरस्कार दिइएको थियो ।
यो प्रतियोगिताका पछाडि रोचक इतिहास रहेको छ । फिनल्यान्डमा १९औं शताब्दीमा रोनकाइनेन डाँकुको समूहले गाउँहरू लुट्ने अनि महिलाहरूलाई उठाएर लैजाने गर्थे ।
अर्को कथा अनुसार रोनकाइनेनले आफ्ना समूहका सदस्यलाई भारी बोरा वा महिला बोकेर दौडी बलियो भएको प्रमाणित गर्न लगाउँथ्यो ।
आधुनिक प्रतियोगितामा भने प्रतियोगीले धूलो र हिलो बाटाकोे बाधा पार गर्दै दौडिनुपर्ने हुन्छ ।
प्रतियोगितामा पुरुषले महिलालाई बोक्ने गर्छन् । उनीहरू विवाहित नै हुनुपर्छ भन्ने छैन । महिलालाई जसरी बोकेपनि हुन्छ । कसैले त उल्टो पारेर बोक्दै कुदाउने पनि गरेका छन् ।
एपी