धरान/एएफसी सोलिडारिटी कपमा नेपालले ऐतिहासिक जीत निकालेको छ । मलेसियाको कुचिङस्थित साराबाग रंगशालामा मङ्गलबार सम्पन्न फाइलनमा नेपालले मकाउँलाई १–० गोलले हराउँदै उपाधि उचालेको हो ।
उपाधिसँगै नेपालले एकवर्ष भित्र अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक पुर्याएको छ । यस अघि बंगलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप र यु–२३ अन्तर्गत १२ औं साफ खेलको फुटबलमा स्वर्ण पदक उचालेको थियो । बंगबन्धुपछि नेपालले अन्तर्राष्ट्रिय खेलमा पछाडी फर्किनु परेको छैन् । २३ वर्षपछि ऐतिहासिक जीत दर्ता गर्दै नेपालले यसवर्ष अपराजित यात्राको थालनी गरेको थियो । नेपालका लागि निर्णायक गोल सुजल श्रेष्ठले गरे । उनले भरत खवासको क्रस पासलाई हेडमार्फत् २९ औं मिनेटमा जाली चुमाएका थिए । दोस्रो हाफमा केही अवसरहरु नेपालले खेर फालेको थियो ।
त्यसो त नेपालको मकाउँसँग पहिलो पटक सन् १९९७ मा भेट भएको थियो । नेपालले मकाउँसँग ५ पटक स्पर्धा गरिसकेको थियो । जसमा ३ जित, एक हार र एक बराबरी खेलेको थियो । पछिल्लो पटक नेपालले मकाउसँग २००८ मा भेट भएको थियो । ८ वर्षपछिको भेटमा नेपालले मकाउसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ । कम्बोडियामा सम्पन्न २००८ को च्यालेन्ज कपमा नेपालले मकाउँलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल बनेको थियो । यसपटक भने नेपालले १–० गोल अन्तरले नै हराउँदै एएफसीको फाइनल उपाधि उचालेको छ । अन्तर्राष्ट्रिय स्तरमा एएफसी पहिलो पटक नेपालले उचालेको हो ।
लिग चरणमा टिमोर लिष्टेसँग बराबरी खेलेको नेपालले ब्रुनाईलाई ३–० गोल अन्तरले हराएको थियो । समूह चरणमा ४ अंक जोडेको नेपालले सेमिफाइलनमा फिफा बरियतामा ११ स्थान माथि रहेको लाओसलाई ३–० गोलले नै हराउँदै फाइलनमा पुगेको थियो । समूह विजेता बनेरै आएको मकाउलाई फाइलनमा नेपालले सहज जीत निकालेको छ । यससँगै क्याप्टेन बिराज महर्जनकोसमेत यसवर्ष ह्याट्रिक कप्तानी बनेको छ । महादेशीय प्रतियोगितामा नेपालले पहिलो पटक सफलता हात पारेको छ । एएफसीले कमजोर राष्ट्रहरुबीच यो प्रतियोगिता गराउने गरेको छ । जसमा ८ वटा देशहरुले स्पर्धा गर्ने गरेका छन् ।