press-meetपाँचथर/जिल्लाकै सर्वाधिक लोकप्रिय फाल्गुनन्द गोल्डकपको आठौं संस्करण आगामी पुष ८ देखि १७ गतेसम्म हुने भएको छ । मङ्गलबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा यसपल्ट पुरस्कार राशिसँगै सहभागी टिम सङ्ख्या समेत वृद्धि गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

विगतका संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशि १ लाख ११ हजार र ५५ हजार ५ सय ५५ रुपैयाँ राखिएको थियो । यस वर्षदेखि भने बढाएर विजेतालाई २ लाख ५० हजार र उपविजेतालाई १ लाख ५० हजार बनाइने क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । यस्तै यसपल्ट दर्शकको लागि बाँसको प्याराफिट समेत निर्माण गरिने बताइएको छ ।

४ हजार दर्शक अँटाउने प्याराफिट बनाउने तयारी भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।प्रतियोगिताको पहिलो संस्करणदेखि ८ टिमलाई सहभागी गराउँदै आएको आयोजकले यसपल्ट १० टिमलाई सहभागी गराउने भएको छ । यसपल्ट उपाधीका लागि आयोजक फिदिम स्पोर्टिङ क्लबसँगै ताप्लेजुङ ११, माइभ्याली स्पोर्टिङ क्लब इलाम, झापा ११ र मोरङ ११ ले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै सुनसरी–११, चर्च ब्वाइज युनियन क्लब काठमाडौं, भारतको कञ्चनजंघा युनाइटेड क्लब सिलिगुढी, सिक्किम ११ र प्mयान्स बीआरसी क्लब भुटानले पनि प्रतियोगितामा सहभागिता जनाउने फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले जानकारी दिए ।पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेलमैदानमा हुने प्रतियोगिताको लागि २८ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ । १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मान र सम्झनामा नौ वर्ष अघिदेखि फाल्गुनन्द गोल्डकप आयोजना हुँदैआएको छ ।