सुरुङ्गा/सुरुङ्गा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले आयोजक सुरुङ्गालाई ४–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
कूल आठवटा टिम सहभागी रहेको प्रतियोगितामा विजेतालाई ३ लाख ५१ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ । सुरुङ्गा जेसीजले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेल शुरुदेखि नै पुलिसले दबदबा श्रृजना गरेको थियो । शनिबारको जितसँगै नेपाल पुलिस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । यो खेलसँगै आयोजक सुरुङ्गाको फाइनलसम्म पुग्ने लक्ष्य समाप्त भएको छ ।
स्थानीय खेलाडी सहभागी रहेको आयोजक सुरुङ्गा पुलिसका सामु खेल अवधिभर निरीह देखियो । आयोजकले रक्षात्मक खेल प्रदर्शन गर्नसम्म सकेन । आक्रामक शैलीमा खेल शुरु गरेको पुलिसले आयोजकविरुद्ध गोलको वर्षा नै ग¥यो । खेल शुरु भएको तेस्रो मिनेटमै पुलिसका लागि दिनेश गुरुङले पहिलो गोल गरे । कप्तान जुमानु राईले प्रहार गोलरक्षकले रोकेपछि रिबाउन्स भएको बल सदुपयोग गर्दै दिनेशले गोल गरेका थिए ।
पहिलो हाफको २९ औं मिनेटमा पुलिसकै तेज तामाङले दोस्रो गोल गर्दै खेललाई २–० को अग्रता दिलाए । तामाङले डी–बक्सभित्र पाएको अवसरलाई सिधै जाली चुमाएका थिए । दोस्रो हाफमा पुलिस झन् आक्रामक बन्यो । ५० औं मिनेटमा निरकुमार राईले गोललाई जाली चुमाउँदै पुलिसलाई ३–० को अग्रता दिलाए ।
पहिलो हाफमा पासको सदुपयोग गर्न नसकेका पुलिसका कप्तान जुमानु राई दोस्रो हाफमा लयमा फर्किए । खेलको ५४ औं मिनेटमा व्यक्तिगत गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए ।
आयोजकले सहभागिता जनाएको खेलमा पनि दर्शकको उपस्थिति भने न्यून थियो । खेलमा पुलिसका तेज तामाङ र आयोजक टोलीका राजकुमार कन्दङ्वाले पहेंलो कार्ड पाएका थिए । आयोजक टीमले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी समेत सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दी म्याच पुलिसका निरकुमार राई घोषित भए । उनलाई बिर्तामोडको साथी मोबाइल पसलको तर्पmबाट १६ हजार मूल्यको एण्ड्रोइड मोबाइल फोन प्रदान गरिएको थियो ।
खेलको पहिलो गोलकर्ता दिनेशलाई बिर्तामोडका युवा व्यवसायी एसपी प्रसाईंले नगद २ हजार प्रदान गरे । उनले प्रत्येक खेलको पहिलो गोलकर्तालाई नगद प्रदान गर्ने घोषणा गरेका छन् । आइतबारको खेलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ बीच प्रतिस्पर्धा हुने आयोजक सुरुङ्गा जेसीजका अध्यक्ष सरला पोखरेलले जानकारी दिएका छन् । प्रतियोगिताको मुख्य प्रायोजक सहारा नेपाल चारपाने रहेको छ ।