विजयपुर/विगत १३ वर्षदेखि सञ्चालन हुँदैआएको ललित–अम्बर डिपो कप तथा दीलकुमार प्लेट च्याम्पियन कपको १३ औं संस्करण मङ्सिर १० गतेदेखि हुने भएको छ ।
सुनसरीका निजी विद्यालयका ५ कक्षासम्मका विद्यार्थीहलाई सहभागी गराएर सञ्चालन गरिने अन्तरविद्यालयस्तरीय प्रतियोगिता धरानको डिपोट उच्च माविले आयोजना गर्दैआएको छ । प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा माविका प्राचार्य राजकुमार राईले प्रतियोगितामा सुनसरीका १५ वटा विद्यालयका १६ टिमले प्रतिस्पर्धा गर्ने जनाए ।
यसपटकको प्रतियोगितामा पूर्व क्षेत्रीय पुलिस बोर्डिङ हाई स्कुल धरान, हिमशिखर आई स्कुल तरहरा, होलीलेण्ड ईन्टरनेशनल स्कुल धरान, एसओएस हर्मन माईनर स्कुल इटहरी, डिपोट हाइयर सेकेण्ड्री स्कुल, लोटस विद्या मन्दिर लगायतका स्कुलको सहभागिता रहने राईले जानकारी दिए ।
प्रतियोगितामा १२ वर्षमुनिका ४ फिट १० इञ्च उचाइ भएका विद्यार्थीले भाग लिन पाउने आयोजकले जानकारी दिएको छ । विजेताहरुलाई रनिङ शिल्डका साथै नगद, ट्रफी तथा मेडलहरु दिइने प्रतियोगिताका संयोजक भीमराज लिम्बूले जानकारी दिए ।