manang-teamबिर्तामोड /  विदेशी खेलाडी ओलावालेको एकमात्र निर्णायक गोलको मद्दतले सहारा सुरुङ्गा गोल्डकपको चौथो संस्करणमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले सिएमजी सङ्कटा क्लबलाई पाखा लगाएको छ । सुरुङ्गा जेसीजद्वारा आयोजना भएको गोल्डकप पूmटबल प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा मनाङले दोस्रो हाफको छैटौं मिनेटमा एकमात्र निर्णायक गोल गरेको थियो । मनाङको जितमा विदेशी खेलाडी ओलावाले नायक बने । जितसँगै मनाङले चितवनको विकास रनिङशिल्डको सेमिफाइनलमा सङ्कटासँग भोगेको पराजयको बदला लिएको छ । निक्कै प्रतिस्पर्धापूर्ण खेलमा सङ्कटा क्लबले धेरै आकर्षक मुभ बनाएको थियो । सङ्कटाको पराजयमा विदेशी खेलाडी सिसोको तगारो बने । नेपाली राष्ट्रिय टोलीका गोलकिपर समेत रहेका मनाङका रक्षक किरण चेम्जोङले खेल अवधिभर कुनै जोखिमको सामना गर्नु परेको थिएन । पहिलो हाफको १२ मिनेटमा सङ्कटाका राकेश पाण्डेले गरेको प्रहार मनाङका गोलरक्षक चेम्जोङले सहजै बचाउ गरेका थिए । मनाङका ओलावालेले २२ औं मिनेटमा गरेको प्रहार पनि सङ्कटाका गोलकिपरले आकर्षक बचाउ गरे । खेलको २५ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा मनाङका बिमल रानाले गरेको हेड गोलपोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो । पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा मनाङ केही आक्रामक भएको थियो । दोस्रो हाफको छैटौं मिनेटमा ओलावालेले गोल गर्दे टीमलाई शून्यका बिरुद्व एक गोलको अग्रता दिलाए । ओलावालेले राष्ट्रिय टोलीका कप्तान समेत रहेका विराज महर्जनले दिएको पासलाई सदुपयोग गर्दै हेडमार्पmत् गोल गर्न सफल भएका थिए । ओलावालेको प्रहारलाई सङ्कटाका गोलरक्षकले अनुमान समेत लाउन सकेनन् । दोस्रो हाफको २८ औं मिनेटमा सङ्कटाका सब्सिच्युट खेलाडी सौजन राईले गरेको कडा प्रहार गोलपोष्टमा लागेर बाहिरिएको थियो । खेलको अन्तिम समयमा सङ्कटाले लयमा फर्किन प्रयास गरेपनि मनाङका डिफेन्डर सिसोकोले आकर्षक खेल देखाउँदै बल नियन्त्रणमा लिएका थिए । खेलको म्यान अफ दी म्याच मनाङका हेमन गुरुङ घोषित भए । उनलाई आयोजकले एन्ड्रोइड फोन उपलब्ध गराएको थियो । खेलमा एकमात्र गोल गर्ने ओलावालेले व्यवसायी एसपी प्रसाईंले उपलब्ध गराएको दुई हजार नगद प्राप्त गरे । खेल अवधिमा मनाङका कप्तान अनील गुरुङ र सङ्कटाका विदेशी खेलाडी फ्रोरेन्ट र सौजन राईले पहेंलो कार्डको सामना गरेका थिए । बुधबार पहिलो खेल नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ । यसैगरी बिहीबारको दोस्रो सेमिफाइनल रुपन्देही ११ र मनाङबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टीमले ३ लाख ५१ हजार र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका संयोजक सरला पोखरेलले बताइन् ।