बिर्तामोड/apf team सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहारा सुरुङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा बिभागीय टीम नेपाल पुलीस क्लबलाई टाइब्रेकरमा हराँउदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । सशस्त्रले नेपाल पुलिस क्लबलाई ५–४ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको छ । केही बर्षदेखि लय गुमाएको पुलीसले यो सिजनमा समेत फाइनलमा प्रवेश गर्न सकेको छैन । राष्ट्रिय टोलीमा समावेश दुइजना खेलाडी मैदानमा उतारेको भएपनि पुलिसले अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । खेल अवधिभर सशस्त्रले पुलिसमाथी दवाव श्रृजना गरेको थियो । पुलिसले भने डिफेन्सीभ खेल खेलेको थियो । पहिलो हाफको ५ मिनेटमै सशस्त्र प्रहरीका स्ट्राइकर नविन लामाले डिबक्स भित्रबाट गरेको कढा प्रहार पुलीका गोलरक्षक रोशन खड्काले उत्कृष्ट बचाउ गरेका थिए । खेलको शुरुवातमै आक्रामक खेल खेलेको सशस्त्रले शुरुका आठ मिनेटमा चारवटा सशक्त प्रहार गरेको भएपनि त्यो गोलमा परिणत हुन सकेको थिएन । खेलको २२ मिनेटमा सशस्त्र प्रहरीका अन्जन बिष्टले गरेको कढा प्रहार बिपक्षी गोल पोष्टको केही माथीबाट बाहिरिएको थियो । दोश्रो हाफको ४९ मिनेटमा एपीएफका भरपर्दा डिफेन्डर रमेश दङगालले गरेको हेड पनि पोष्ट नजिकैबाट बाहिरिएको थियो । खेलको ३१ मिनेटमा नेपाल पुलीस क्लबका रवि पासवानले गरेको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले रोकेका थिए । निर्धारित समयभित्र कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पुलिसका सब्सिच्यूट खेलाडी बुद्व लामाको प्रहार बाहिरिएको थियो । पुलीसका तर्फबाट  बिक्रम धिमाल, दिनेश गुरुङ, तेज तामाङ र दिनेश राजबंशीले गोल गरेका थिए । सशस्त्रका तर्फबाट नविन लामा, आदित्य चौधरी, मिलन राई, पासाङ तामाङ र अन्जन बिष्टले गोल गरेका थिए । सुरुङ्गाको खेल मैदान टाइब्रेकरका लागि एपीएफलाई लक्की सावित हुँदै आएको छ । यसअघि पनि रमपम झापा ११ लाई टाइब्रेकरमै ५–४ को गोलअन्तरले हराउँदै एपीएफ सेमिपफाइनल प्रवेश गरेको थियो । खेलको म्यान अफ द म्याच सशस्त्र प्रहरीका राजेन्द्र रावल घोषित भए । उनले बिर्तामोडको ग्रिसा एण्ड इन्टरप्राइजेजका तर्फबाट पवन खतिवडाले प्रदान गरेको एण्ड्रोइड फोन प्राप्त गरे । यसैगरी खेलमा पहिलो गोल गर्ने पुलीसका बिक्रम धिमाललाई ब्यवसायी एसपी प्रसाइले नगद २ हजार प्रदान गरेका थिए । बिहिबारको अन्तिम सेमीफाइनल खेल लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ का बीच हुने आयोजक कमिटिका संयोजक सरला पोखरेलले बताइन् ।