footballधरान/प्रावि तहको जिल्लास्तरीय १३ औं ललित–अम्बर डिपो कपको उपाधि आयोजक डिपो आदर्श कलेजले नौ वर्षपछि जितेको छ । शुक्रबार डिपो आदर्श कलेजको खेल मैदानमा सम्पन्न फाइनल खेलमा डिपोले प्रहरी आवासीय विद्यालय धरानलाई २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै डिपोले ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

जितको लागि डिपोका अरुण राई र कृष्ण विष्टले गोल गरेका थिए । यता उपविजेतामा चित्त बुझाएको प्रहरीले ५ हजार रुपैयाँसहित ट्रफी पाएको छ । डिपोले तेस्रो ललित–अम्बर डिपो कपको उपाधि उचालेको थियो ।तेस्रो बनेको होलिल्याण्ड इन्टरनेशनलले ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । डिपोसँगको सेमिफाइनल खेलमा एसओएस बालग्राम इटहरीले वाकओभर दिएपछि होलिल्याण्ड स्वघोषित रुपमा तेस्रो बनेको थियो । फाइनल खेलको म्यान अफ दी म्याच पुलिसका सुदीप थापा घोषित हुँदै ट्रफी पाए । यस्तै वेष्ट गोलकिपरमा पुलिसका सुजन थापा घोषित हुँदै ट्रफी पाए ।

यस्तै बेष्ट डिफेन्समा डिपोका कृष्ण विष्ट, बेष्ट प्लेयरमा पुलिसका सुजित थापा, उदीयमान खेलाडीमा डिपोका योगेश लिम्बू घोषित हुँदै ट्रफी जितेका छन् । हाइस्कोररमा इमानुयल स्कुलका डिकेन्द्र राई घोषित भए । उनले खेल अवधिभर ३ गोल गरेका थिए । दिलकुमार प्लेट च्याम्पियन बनेको धरानको नवज्योति स्कुलले ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इटहरीको नेपाल डिभीएम ग्लोबल एकेडेमीले २ हजार रुपैयाँसहित ट्रफी पाएको छ । विजेता, उपविजेता स्कुलहरुलाई क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका सहायक क्षेत्रीय शिक्षा अधिकारी सूर्यकिरण भण्डारी, विद्यालय सञ्चालक समितिका अध्यक्ष मेजर श्रवणकुमार लिम्बू लगायतले पुरस्कार वितरण गरेका थिए ।