धरान/अखिल नेपाल फुटबल संघ (एन्फा) सँग नेपालको चर्चित फुटबल क्लव थ्रि स्टार क्लवले ६ करोड क्षतिपूर्ती माग गरेको छ । three star एन्फाको लापरबाहीको कारण थ्रि स्टारले एएफसी कलको प्ले अफ खेल्न नपाएको भन्दै क्लवले त्यसको क्षतिपूर्ति बापत ६ करोड मागेको हो । थ्रि स्टारले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै क्षतिपूर्ति नदिए क्लवले कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने बताएको छ । एन्फाले समयमै नेपालबाट खेल्ने क्लबको नाम नपाठाएपछि थ्री स्टारले एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले अफ खेल्नबाट बन्चित बनेको थियो । राष्ट्रिय लिग विजेताका रुपमा थ्री स्टारले यसअघि मंगोलियामा एएफसी कपको प्रारम्भिक छनोट खेलेको थियो । त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो । तर एएफसीले एन्फालाई पटक पटक पत्र पठाए पनि एन्फाले नेपाली क्लबको नाम एएफसीमा नपठाएपछि एएफसीले थ्री स्टारलाई प्रतियोगिताको प्ले अफ खेल्ने टिमको सूचीमा नराखेको जनाएको थियो । यता एन्फाले भने यस घटनालाई लिएर छानविनका लागि आयोग गठन गरीसकेको छ ।