[caption id="attachment_18462" align="aligncenter" width="800"]foot फायल तस्विर[/caption]

धरान/ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धरानमा छवटा खेल हुने भएका छन् । पुष ८ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बुधबार जनाइएको छ । धरानमा पुरुष फुटवल, महिला र पुरुष बास्केटबल, उस्सु, कराते, साइक्लिङ र सोपाकटाक्रो खेल हुनेछन् ।

त्यसका लागि खेलाडीहरुलाई धरानका विभिन्न होटलमा बसोबासको व्यवस्था मिलाइसकिएको बसोबास व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी कुमार बस्नेतले बताए । धरानमा अफिसियलसहित ६ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्न लागेका छन् । पुरुष फुटवल बिहीबारदेखि नै शुरु हुन लागेको छ ।

फुटवलको उद्घाटन अखिल नेपाल फुटवल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने कार्यक्रम रहेको पुरुष फुटवल संयोजक एवम् एन्फा उपाध्यक्ष किशोर राईले बताए । प्रतियोगिताको समापन धरानमा हुने जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राईले बताए । उनका अनुसार समापनमा रग्वी, साम्बो, रक क्लाइम्बिङ, दोहोरी गीतको प्रदर्शनी खेलहरु हुनेछन् ।

सातौं राष्ट्रियको फुटवल क्षेत्रीय रङ्गशालामा गराउने तयारी भएपनि निर्माण सम्पन्न नभएपछि एन्फा टेक्निकलको खेल मैदानमा हुन लागेको छ ।