धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बल र विभागीय टोली नेपाल आर्मीले जित निकाल्दै तीन–तीन अङ्क जोडेका छन् । एन्फा एकेडेमीको खेल मैदानमा जारी पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलले मध्यमश्चिमाञ्चलाई ८–० गोलको फराकिलो गोल अन्तरले जित निकालेको छ । विभागीय टोलीबाट युवराज खड्काले ह्याट्रिक पूरा गर्दै चार गोल गर्न सफल भए । उनले व्यक्तिगत चारगोल दोस्रो हाफको ८, ३४, ४४ र ४५ मिनेटमा गोल गरेका थिए । त्यस्तै राष्ट्रिय खेलाडीसमेत रहेका रञ्जन विष्ट, श्याम नेपाल र राजेन्द्र रावलले गोल गरेका थिए । न्वौं मिनेटमा रञ्जनको गोलबाट अग्रता लिएको एपिएफले १४ औं मिनेटमा श्यामले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा राजेन्द्रले गोल गरेका थिए । दोस्रो हाफमा एपिएफका युवराज हावी बनेका थिए । मध्यमाञ्चल गोलविहीन बन्दै कुनै पनि अङ्क जोड्न सकेन् । शुक्रबारकै दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मीले सुदुर पश्चिमाञ्चललाई १–० गोल अन्तरले पाखा लगाउँदै अंक जोडेको छ । आर्मीका सुमन अर्यालले पहिलो हाफको छैठौं मिनेटमा हेडमार्फत् निर्णायक गोल गर्न सफल बनेका थिए । आर्मीबाट राष्ट्रिय टोलीका भरत खवास, नवयुग श्रेष्ठ, विकेश कुथुको उपस्थिति भए पनि आर्मीका लागि सहज जित निकाल्न सकेन् । आर्मीमाथि सुदुरपश्चिमको टोली हावी भएको थियो । सुदुरपश्चिमले पहिलो हाफको ३८ मिनेटमा मणीराम चौधरीको प्रहारलाई आर्मीका गोलरक्षक विकेशले पन्च गरेको बललाई रक्षापंक्तिका खेलाडी जितेन्द्र कार्कीले सुन्दर बचाउ गरेका थिए । त्यस्तै दोस्रो हाफको ११ औ मिनेटमा जीवन चौधरीको प्रहारलाई गोलरक्षक कुथुले पञ्च गरी सुन्दर बचावट गरेका थिए । पुनः २८ मिनेटमा सुदुरपश्चिमका सन्तोष तामाङको प्रहार दोस्रो बार छेवैबाट बाहिरियो । ३५ मिनेटमा सुदुरका रामसिंह रानाको हेडमा गोलरक्षक कुथुले पञ्च गरी बचाए । आर्मीमाथि हावी भएको सुदुरपश्चिमले आधा दर्जन बढी सुन्दर मौकालाई विपक्षी गोलरक्षकले विफल तुल्याएका थिए । राष्ट्रिय खेलाडीले भरिभराउ भए पनि आर्मीले सुदुरमाथि कुनै दवाव बनाउन सकेन् । अवको खेल सशस्त्रले सुदुरपश्चिमसँग र आर्मीले मध्यपश्चिमसँग दोस्रो लिग खेल्ने छ ।