झापा/सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।
मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र सय किलोमुनि रबिन श्रेष्ठले तथा महिला स्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जितेकी छन् ।
यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारिन्।
यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जित्दा भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरिन् ।
जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते । पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाए ।
यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे । पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारे । पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते ।
यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जिते । महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाए ।
यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जिते । महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जिते ।