धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा पश्चिमाञ्चल क्षेत्रको टिमले दुईस्वर्णसहित शीर्षस्थान ओगट्न सफल भएको छ ।
धरान १८ स्थित डिपो उच्चमाविको कोर्टमा सम्पन्न रेगो, डब्बल र टिम इभेन्टहरुमा पश्चिमाञ्चलले २ स्वर्ण र दुई रजत पदक हात पारेको छ । पश्चिमाञ्चलले पुरुष डब्बल र महिला डब्बलमा स्वर्ण जितेको हो । साथै, पुरुष रेगो र महिला रेगोमा रजत पदक हात पारेको हो । विभागीय टिम नेपाल आर्मीले २ स्वर्णसहित एक रजत पदक हात पार्दै दोस्रो स्थानमा छ ।
विभागीय टिमले पुरुष रेगो र टिम इभेन्टमा स्वर्ण जित्दा पुरुष डब्बलमा रजत जितेको थियो । सुदुर पश्चिमाञ्चलले एकस्वर्ण, एक रजत र एक कास्यसहित तेस्रो बनेको छ । उसले महिला रेगोमा स्वर्ण जित्दा महिला डब्बलमा रजत र पुरुष टिम इभेन्टमा कास्य पदक हात पारेको थियो । मध्यमाञ्चलले चार कास्य पदक हात पारेको छ । मध्यपश्चिमाञ्चलले एक रजत जित्दा पूर्वाञ्चल पदकविहीन बनेको छ । पुरुष टिम इभेन्टमा मध्यपश्चिमाञ्चलले एक रजत हात पारेको थियो ।
पुरुष इभेन्टहरुमा विभागीय टिम नेपाल आर्मीसहित ६ वटा टिम सहभागी थिए भने महिला इभेन्टमा पाँच विकास क्षेत्रको टिमहरुमात्रै सहभागी बनेका थिए । विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्र गुरुग र डिपो उच्चमाविका प्राचार्य राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
बास्केटबलमा स्वर्णका लागि नेपाली सेना र मध्यमाञ्चल भिड्दै
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा विभागीय टोली नेपाली सेना र मध्यमाञ्चल क्षेत्रबीच बुधबार भिडन्त हुँदै छ । मङ्गलबार सम्पन्न खेलबाट सेनाले पूर्वाञ्चल क्षेत्रको टोलीलाई १०५–७० स्कोर अन्तरले पराजित गर्दै फाइलनमा पुगेको हो ।
त्यस्तै मङ्गलबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ९९–८१ स्कोर अन्तरले पराजित गर्दै फाइलनमा पुगेको छ । सेनाले प्रत्येक क्वाटरमा ३३–२८–१७–२७ अङ्क बनाउँदा पूर्वाञ्चलले १३–१९–२०–१८ स्कोर जोडेको थियो । त्यस्तै मध्यले २०–२५–२७–२७ स्कोर जोड्दा पश्चिमले १८–१४–२५–२४ अङ्क जोडेको थियो । बुधबार कास्यको लागि भने पूर्वाञ्चल र पश्चिमाञ्चलबीच खेल हुने छ ।