धरान / सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघारमा आइपुगेको छ । जस अन्तर्गत पुरुष फुटबल प्रतियोगिता मात्रै बाँकी छ । पुरुष फुटबलसँगै सातौं राष्ट्रिय खेलकुदले विट मार्ने छ । ३५ खेल मध्ये ३० खेल पूर्वका विभिन्न सहरहरुमा सम्पन्न भए । जसमा ४ हजार खेलाडीहरु सहभागी भए । मोरङको विराटनगरबाट सुरु भएको प्रतियोगिताको समापन धरानले गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुलीबाट उद्घाटन भएको खेलको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने निश्चित भएको छ । सातौंको समापनसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा हुन थालेको छ । तर, कहाँ हुने निश्चित हुन सकेको छैन् । ‘पश्चिमाञ्चल वा मध्यपश्चिमाञ्चल मध्ये एक ठाउँमा हुन्छ ।’ राखेप सदस्य सचिव केशवकुमार विष्टले भनेका छन् । आठौंको लागि निश्चित स्थान तोकिएको छैन् । सातौंका ३० प्रतियोगिता मध्ये सबैभन्दा बढी सुनसरीमा सम्पन्न भए । सुनसरीमा जम्मा ११ वटा खेलहरु सम्पन्न भएका छन् । जसमध्ये धरानमा ६ वटा र इटहरी दुहवी गरी ५ वटा खेलहरु सम्पन्न भएका छन् । सातौं प्रतियोगिता खालीखुट्टादेखि टेन्ट र पालसम्ममा खेलाइयो भन्दै सञ्चारमाध्यमहरुमा व्यापक आलोचनासमेत भएको छ । यो आलोचनालाई केही हदसम्म राखेप सदस्य सचिव विष्टलेसमेत स्वीकारेका छन् । तर, उनले पनि समापनको विषयमा धरानमा बुधबार गरिएको पत्रकार सम्मेलनमा भने, ‘ओलम्पिक खेलहरुमा पनि खाली खुट्टा र पालमा खेलाउन प्रचलन छ । यहाँ मात्रै होइन् ।’ खेलाडी, अफिसियलको बसोबास व्यवस्थापनमासमेत व्यापक गुनासो आएको थियो । असन्तुष्ट र विवादका बीच पनि २८ करोडको बजेटमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न हुँनै लागेको छ । तर, पूर्वाञ्चलमै सम्पन्न भए पनि पूर्वाञ्चलले पदक तालिकामा त्यस्तो उल्लेखनीय योगदान दिन सकेन् । पूर्वाञ्चल पदक तालिकामा अन्ततिर आएको छ । यसमा पनि विभागीय तीनवटा टिमहरुको बर्चश्व रह्यो । सातौंदेखि सुरु गरिएको सेपाकताक्रोमा मात्रै पश्चिमाञ्चलले दुई स्वर्णसहित दुई रजत पदक हात पार्यो अन्य खेलहरुमा विभागीय टिम आर्मीकै बर्चश्व रहेको छ । अव बाँकी रहेको फुटबल प्रतियोगिता पनि विभागीय टोलीहरु सशस्त्र प्रहरी बर र नेपाल आर्मी नै अन्तिम भिडन्तमा शनिबार (समापनको अवसरमा) उत्रिदै छन् । आर्मीले मध्यमाञ्चललाई शुक्रबार ७–६ गोल अन्तरले सडेन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको छ भने एपिएफले अर्को विभागीय नेपाल प्रहरीलाई २–० गोलले हराउँदै फाइलनमा पुगिसकेको छ । फाइलनमा विभागीय टिमहरुकै बर्चश्व हुनेमा दुईमत छैन् । यसअघिको छैठौं राष्ट्रिय प्रतियोगिताको पुरुष फुटबलमा सुदुरपश्चिमाञ्चलले नै आफ्नो पकडमा राखेको थियो । जतिखेर प्रतियोगिता पनि सुदुरमै सम्पन्न भएको थियो । तर, यो पटक पूर्वाञ्चलमा खेल सम्पन्न भए पनि महिला क्रिकेट र पदक तालिकामा गन्ती नगरिएको गल्फ प्रतियोगितामा मात्रै पूर्वाञ्चलले स्वर्ण हात पारेको छ । अन्यमा प्रतियोगिताहरुमा नजिता लगभग सून्य छ । झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी जिल्लाका विभिन्न स्थानहरुमा प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगिताको लागि पूर्वाधारमा खासै लगानी भएको देखिदैन् । भएकै पूर्वाधारलाईसमेत सामान्य मर्मतसमेत नगरेको व्यापक गुनासोहरु आएका छन् । त्यस्तै व्यवस्थापकहरुको छनौटमा क्षेत्रले नै निर्णय गरेर खेल असम्बन्धित व्यक्तिहरु राखिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक गुनासोसमेत आएको थियो । बास्केटबलका जिल्ला सचिव नारायण सुवेदीले डिपो उच्चमाविमा भएको बास्केटबलको उद्घाटनको अवसरमा दिएको स्वागत मन्तब्यका क्रममा क्षेत्रले नै एकलौटी ढंगले निर्णय गर्दै खेल भन्दा बाहिरका मान्छेहरुलाई नियुक्ती दिएको भन्दै व्यापक विरोध गरे । उनले सामाजिक सञ्जालमा पनि लेखे । असन्तुष्टीका विषयमा पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव विष्टले सामान्यतया ठूलो प्रतियोगितामा स–सना गुनासाहरु आउनुलाई अन्यथा लिनु नहुने भन्दै टार्ने प्रयास गरेका थिए । उनले पूर्वाञ्चलमा यत्रो ठूलो प्रतियोगिता त्यो पनि अप्रयाप्त बजेटका बाबजुद पनि कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा खुसी हुनु पर्ने बताएका थिए । सातौं राष्ट्रिय खेलकुदको पाँचवटा प्रतियोगिता काठमाडौं र पोखरामा सम्पन्न भए । प्रतियोगिताको लागि उपयुक्त स्थान नभएको भन्दै पाँचवटा खेलहरु उत्तै गरिए । प्रतियोगिताको उद्घाटन जसरी तामझामका साथ भयो समापन पनि उसैगरी हुने देखिदै छ । तर, कतिपय खेलहरुलाई पदक तालिकामासमेत नराखिनुले पनि गुनासो अत्यधिक आएका थिए । साहसिक खेलमा पर्ने साइक्लिङलाई पदक तालिकामा गणना नहुनु दुर्भाग्य भएको नेपाल साइक्लिङ संघका उपाध्यक्ष एवं विश्वसाइकल यात्री पुस्कर साहले गुनासो गरे । उनले भने, ‘प्रतियोगिता भइसकेपछि पदक त हुनुपर्यो ।’ साइक्लिङमा ६० जिल्लाका साइक्लिष्टहरुले सहभागिता जनाएका थिए ।