ताप्लेजुङ/तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित खुल्ला पुरुष मिनी म्याराथुन प्रतियोगिताको उपाधि ताप्लेजुङकै खेम लिम्बुले जितेका छन् । आज सदरमुकाम फुङ्लिङ स्थित तोक्मेडाँडा देखि सुकेटार हुँदै पुन तोक्मे सम्मको १८ किलोमिटर दुरी १ घण्टा ८ मिनेटमा पार गर्दै ताप्लेजुङ ढुङेसाँघु ८ का लिम्बूले म्याराथुनको उपाधि चुमेका हुन् ।
यस्तै झापा दमक रन संस्थाका याङदेव राई र तेह्रथुम ह्वाकुका कुमार डाँगी निधारीत दुरी क्रमस १ घण्टा ९ मिनेट र १ घण्टा १४ मिनेटमा पार गर्दै दोस्रो र तेस्रो हुन सफल भएका छन् । विजयी तीनै जनालाई भोली ल्होसारको अवसरमा आयोजना हुने औपचारी कार्याक्रममा पुरस्कार सहित सम्मान गरीने आयोजक तमू ल्होसार मूल आयोजक समितिले जनाएको छ । विजयी प्रथमलाई १० हजार, दोश्रोलाई ८ हजार र तेश्रोलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।
आज सम्पन्न म्याराथुन प्रतियोगीताको प्रमूख जिल्ला अधिकारी नर बहादुर खड्काले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा ताप्लेजुङ सहित तेह्रथुम, झापा, दोलखा, भक्तपुर सहितका जिल्लाका १६ जनाको सहभागिता रहेको थियो । तमू ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषद र तमू ल्होसार मूल आयोजक समितिको आयोजनामा पुस १४ र १५ गते सदरमुकाममा विविध कार्यक्रम गरि मनाईदैछ । कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुती समेत रहेको आयोजक समिति संयोजक एम वी लामा गुरुङले बताउनुभयो ।
ल्होसारमा गुरुङ, लिम्बू, राई, नेवार, शेर्पा समुदायको जातिय परिकारका स्टल समेत राखिएको छ । छेलो र भाले झार्ने बाहेक जातिय संस्कृती झल्कने नृत्य कार्यक्रम समेत आयोजना गरिएको आयोजको भनाई छ । यस अघि ल्होसारकै अवसरमा मङ्गलबार आयोजक र नयाँ रणभीम गुल्म विच मैत्रीपूर्ण फुटबल खेल समेत सम्पन्न भएको छ ।