धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापनकाे सङ्घारमा आइपुगेको छ । जसअन्तर्गत पुरुष फूटबल प्रतियोगिता मात्रै बाँकी छ । पुरुष फुटबलसँगै सातौं राष्ट्रिय खेलकुदले बिट मार्ने छ । athe ३५ खेलमध्ये ३० खेल पूर्वका विभिन्न शहरहरुमा सम्पन्न भए । जसमा ४ हजार खेलाडी सहभागी भए । मोरङको विराटनगरबाट शुरु भएको प्रतियोगिताको समापन धरानले गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको खेलको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने निश्चित भएको छ । सातौंको समापनसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा हुन थालेको छ । तर, कहाँ हुने निश्चित हुन सकेको छैन । ‘पश्चिमाञ्चल वा मध्यपश्चिमाञ्चलमध्ये एक ठाउँमा हुन्छ’, राखेप सदस्य सचिव केशवकुमार विष्टले भनेका छन् । आठौंको लागि निश्चित स्थान तोकिएको छैन । सातौंका ३० प्रतियोगितामध्ये सबैभन्दा बढी सुनसरीमा भए । सुनसरीमा जम्मा ११ वटा खेल सम्पन्न भएका छन् । जसमध्ये धरानमा ६ वटा र इटहरी तथा दुहबी गरी पाँचवटा खेल भएका छन् । सातौं प्रतियोगिता खालीखुट्टादेखि टेन्ट र पालसम्ममा खेलाइयो भन्दै सञ्चारमाध्यमहरुमा ब्यापक आलोचनासमेत भएको छ । यो आलोचनालाई केही हदसम्म राखेप सदस्य सचिव विष्टलेसमेत स्वीकारेका छन् । तर, उनले पनि समापनको विषयमा धरानमा बुधबार गरिएको पत्रकार सम्मेलनमा भने, ‘ओलम्पिक खेलहरुमा पनि खालीखुट्टा र पालमा खेलाउन प्रचलन छ । यहाँ मात्रै होइन ।’ खेलाडी, अफिसियलको बसोबास व्यवस्थापनमा पनि व्यापक गुनासो आएको थियो । असन्तुष्ट र विवादका बीच पनि २८ करोडको बजेटमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न हुनै लागेको छ । तर, पूर्वाञ्चलमै सम्पन्न भएपनि पूर्वाञ्चलले पदकतालिकामा त्यस्तो उल्लेखनीय योगदान दिन सकेन । पूर्वाञ्चल पदक तालिकामा अन्त्यतिर आएको छ । यसमा पनि विभागीय तीनवटा टिमको वर्चश्व रह्यो । सातौंदेखि शुरु गरिएको सेपाकताक्रोमा मात्रै पश्चिमाञ्चलले दुई स्वर्णसहित दुई रजत पदक हात पा¥यो भने अन्य खेलमा विभागीय टिम आर्मीकै वर्चश्व रहेको छ । अब बाँकी रहेको फूटबल प्रतियोगितामा पनि विभागीय टोलीहरु सशस्त्र प्रहरी र नेपाल आर्मी नै अन्तिम भीडन्तमा शनिबार (समापनको अवसरमा) उत्रिँदै छन् । आर्मीले मध्यमाञ्चललाई बिहीबार ७–६ गोल अन्तरले सडेन डेथमा हराउँदै फाइनल यात्रा तय गरेको छ भने एपीएफ अर्को विभागीय नेपाल प्रहरीलाई २–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ । फाइनलमा विभागीय टिमहरुकै वर्चश्व हुनेमा दुईमत छैन । यसअघिको छैठौं राष्ट्रिय प्रतियोगिताको पुरुष पूmटबलमा सुदुरपश्चिमाञ्चलले नै आफ्नाे पकडमा राखेको थियो । जतिखेर प्रतियोगिता पनि सुदुरमै सम्पन्न भएको थियो । तर, यसपटक पूर्वाञ्चलमा खेल सम्पन्न भएपनि महिला क्रिकेट र पदक तालिकामा गन्ती नगरिएको गल्फ प्रतियोगितामा मात्रै पूर्वाञ्चलले स्वर्ण हात पारेको छ । पूर्वाञ्चलले कूल ६ वटा मात्रै स्वर्ण हात पार्दा अन्यमा नतिजा लगभग शून्य छ । झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी जिल्लाका विभिन्न स्थानमा प्रतियोगिता भएका छन् । प्रतियोगिताको लागि पूर्वाधारमा खासै लगानी भएको देखिँदैन । भएकै पूर्वाधारलाई समेत सामान्य मर्मतसमेत नगरेको व्यापक गुनासो आएका छन् । यस्तै व्यवस्थापकहरुको छनौटमा क्षेत्रले नै निर्णय गरेर खेल असम्बन्धित व्यक्तिहरु राखिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक गुनासोसमेत आएको थियो । बास्केटबल सङ्घका जिल्ला अध्यक्ष नारायण सुवेदीले डिपो उच्चमाविमा भएको बास्केटबलको उद्घाटनको अवसरमा दिएको स्वागत मन्तव्यका क्रममा क्षेत्रले नै एकलौटी ढङ्गले निर्णय गर्दै खेलभन्दा बाहिरका मान्छेहरुलाई नियुक्ति दिएको भन्दै व्यापक विरोध गरे । उनले सामाजिक सञ्जालमा पनि लेखे । असन्तुष्टिका विषयमा पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव विष्टले सामान्यतया ठूलो प्रतियोगितामा ससाना गुनासाहरु आउनुलाई अन्यथा लिन नहुने भन्दै टार्ने प्रयास गरेका थिए । उनले पूर्वाञ्चलमा यत्रो ठूलो प्रतियोगिता त्यो पनि अपर्याप्त बजेटका बाबजुद पनि कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा खुशी हुनु पर्ने उनको भनाइ थियो । सातौं राष्ट्रिय खेलकुदको पाँचवटा प्रतियोगिता काठमाडौं र पोखरामा सम्पन्न भए । प्रतियोगिताका लागि उपयुक्त स्थान नभएको भन्दै पाँचवटा खेल उत्तै गरिए । प्रतियोगिताको उद्घाटन जसरी तामझामका साथ भयो समापन पनि उसैगरी हुने देखिँदैछ । तर, कतिपय खेललाई पदक तालिकामा समेत नराखिनुले पनि गुनासो अत्यधिक आएका थिए । साहसिक खेलमा पर्ने साइक्लिङलाई पदक तालिकामा गणना नहुनु दुर्भाग्य भएको नेपाल साइक्लिङ सङ्घका उपाध्यक्ष एवं विश्वसाइकल यात्री पुस्कर साहले गुनासो गरे । उनले भने, ‘प्रतियोगिता भइसकेपछि पदक त हुनुप¥यो ।’ साइक्लिङमा ६० जिल्लाका साइक्लिष्टहरुले सहभागिता जनाएका थिए ।