ताप्लेजुङ/जिल्ला वन कार्यालय अन्तर्गत ताप्लेजुङको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको निर्मममतापुर्वक हत्या भएको छ । जाजरकोट घर भई बित डेढ बर्ष देखि खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक शाहीको आईतवार बिहान हत्या भएको हो । खोक्लिङको ओईराखु स्थित जंगलमा सामुुदायिक वनको लगत सर्बेक्षणको क्रममा स्थानीय सविन लिम्बुुले खुकुुरी प्रहार गरेको हत्या गरेको प्रारम्भिक जानकारी आफुलाई आएको जिल्ला प्रहरी कार्यालय,ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी रामबहादुर केसीले जानकारी दिए ।स्थानीयले शाहीको घाँटीमा धारिलो हतियार प्रहार भई घाँटी र शरिर छिनेको अवस्थामा रहेको जानकारी दिएपनि प्रहरीले सबै बिवरण आई नसकेको बताएको
छ । जिल्ला वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुुख दानबहादुर श्रेष्ठले वन रक्षक सुरेन्द्र कार्की सहितको टोली सर्बेक्षणका क्रममा परिचालन भएकोमा शाहीको हत्या भएको र कार्की भागेर वन कार्यालयको सम्पर्कमा आएको जानकारी दिए । उनले खोक्लिङ रेञ्जपोष्टका ईञ्चार्ज सुमेश्वरकुमार दासको नेतृत्वमा घटनाको जानकारी लिन टोली परिचालन भएको जानकारी दिए ।