durjaइलाम/शसस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईले सुरक्षाकर्मी आफू सुरक्षित नभइ नागरिकको सुरक्षा दिन नसकिने बताएका छन् । अहिले सम्म नेपाली सुरक्षाकर्मीको अवस्था हेर्दा ज्यादै दुःखपूर्ण र दयनीय रहेको भन्दै सुरक्षाकर्मीलाई आवासको मात्र व्यवस्था हुने होभने पनि देश र नागरिकको सुरक्षामा खटिन सजिलो हुने बताए ।

शसस्त्र प्रहरी श्रीअन्तु गुल्मको आज इलाम सदरमुकाममा निर्माण भएको भवनको उद्घाटन गर्दै प्रमुख राईले सुरक्षाकर्मी जनताको शासक नभइ सेवक भएकाले स्थानीयको सहयोग लिएर सेवकको काम गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए । शसस्त्र प्रहरी प्रमुख राईले अझै धेरै स्थानहरुमा आवासको अभावमा सुरक्षामा खटिरहेको सुरक्षाकर्मीहरुकालागि पनि सरकारले भौतिक पूर्वाधार निर्माण गरेर राज्यको सुरक्षा निकायलाई मजबुद गराउन आवश्यक रहेको बताए । उनले सबै सुरक्षाकर्मीहरुलाई अनुसाशन शब्द मानव शरीरको मेरुदण्ड जत्तिकै महत्वपूर्ण रहेकाले सबैलाई अनुशासित भएर कार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले इलाममा शसस्त्रका वेसक्याम्पलाई मजबुद गर्नुपर्ने, नेपालभारत खुल्ला सीमानामा सीमा सुरक्षा बल राख्नुपर्ने, गुल्म परिषरमा बारुण यन्त्रको व्यवस्था गर्नुपर्ने, अग्नी नियन्त्रक विषेशज्ञ टोलीको व्यवस्था गर्नुपर्ने जस्ता कुराहरु इलामकालागि अत्यावश्यक रहेको भन्दै प्रहरी प्रमुख राईको ध्यानाकर्षण गराएका थिए ।कार्यक्रममा इलामका शसस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक चेतराज जोशीले इलाममा शसस्त्र प्रहरीको अवस्था र नवनिर्मित भवनको विषयमा जानकारी गराएका थिए । प्रहरीको नवनिर्मित उक्त दुई तले भवन ३ करोड ६१ लाख ७६ हजार रुपैयाँमा निर्माण गरिएको र भवनमा जाने सडकको भने प्रहरीले आफ्नो आन्तरिक स्रोतबाट २ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको जोशीले जानकारी दिए ।

प्रहरीको भवन रहेको जग्गाको क्षेत्रफल भने ६ रोपनी २ आना रहेको बताइएको छ । नेपाल सरकारको विषेश सुरक्षा निति २०६६ अनुसार इलाममा शसस्त्र प्रहरी २०६६ देखि इलाममा बसेको हो । यसलाई २०६७ वैशाख १ गतेदेखि श्रीअन्तु गुल्म भन्न थालिएको बताइएको छ । २३७ जनाको दरबन्दी रहेको शसस्त्र प्रहरीले आइतबारे, बाँझो, दानाबारीमा आफ्ना विटहरु राखेको छ ।