sport-photoपाँचथर /आठौं टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सोमबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा एलेभेन एरोज दुहबी सुनसरीले हिमालयन शेर्पा क्लव काठमाण्डौंलाई ३–० ले स्तब्ध पारेको छ ।खेलको ३० औं मिनेटमा सामसिङको गोलबाट एलेभेन एरोजले पहिलो हाफमा १–० को अग्रता लियो ।

दोस्रो हाफमा बराबर गोल फर्काउँने हिमालयन शेर्पाको प्रयासलाई असफल बनाउँदै पुनः सामसिङले नै २३ औं मिनेटमा गोल गरे । एलेभेन एरोजको नाममा अन्तिम गोल भने ३८ औं मिनेटमा पिटरले गरे । खेलको म्यान अफ् दि म्याच पनि पिटर बने ।खेलको सुरुदेखि नै हिमालयन शेर्पाले दबाबको सामना गर्नुपरेको थियो । दुबै टोली प्रतियोगिताको आगन्तुक टोली हुन् ।

ए डिविजन क्लव हिमालयनको कमजोर वल पोजिशनको फाइदा उठाउँदै एलेभेन एरोजले सहज जीत निकालेको हो । प्रतियोगितामा मंगलबार देखि क्वाटरफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ । फिदिम उच्च माविको खेलमैदानमा अपरान्ह तीन बजेदेखि हुने पहिलो क्वाटरमा आयोजक फिदिम स्पोर्टिङ र फ्यान्स बीआरसी भूटानबीच प्रतिश्पर्धा हुनेछ ।

फिदिम स्पोर्टिङले प्रतियोथिताको उद्घाटन खेलमा हिमकस्तुरी युथ क्लव सिराहालाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो भने फ्यान्स पहिलो चरणमा वाई पाउँदै सिधै क्वाटरफाइनल प्रवेश पाएको हो ।