धरान/राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको पहिलो डिभिजन टिमका लागि एकवर्ष अनुबन्ध भएका छन् । यसका लागि शुक्रबार माले प्रस्थान गर्दै छन् ।
उनले ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब (टीसी स्पोर्ट्स) मा एकवर्षका लागि अनुबन्ध बनेका हुन् । उनले त्यसको सम्झौता माल्दिभ्स नै पुगेर गर्ने भएका छन् । तर, पारिश्रमिक बारे उनले खुलाउन चाहेका छैनन् । उनी एजेन्टबिना नै उक्त क्लवमा पुग्न सफल बनेका खेलाडी मानिन्छन् । टीसी स्पोर्ट्स माल्दिभ्सको उच्च श्रेणीको ‘धिवेही प्रिमियर लिग’ क्लब हो ।
सन् २०१५ देखि माथिल्लो डिभिजनमा उक्लिएको टीसी स्पोर्ट्स सन् २०१६ को लिग, एफए कप र प्रेसिडेन्ट्स कपमा उपविजेता समेत हो । उनलाई दुईवर्षको अनुबन्धको प्रस्ताव आए पनि एकवर्षको लागि मात्रै सम्झौता गर्ने सहमति बनेको बताएका छन् ।
माल्दिभियन राजधानी माले पुगेर नै क्लबसँग अनुबन्धपत्रमा सम्झौता हुने उनले बताए ।