धरान/अन्तर वडास्तरीय रेडबुल गोधुली रनिङ कप प्रतियोगिताको सत्रौं संस्करण शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा धरानका २० वटा वडाहरु स्पर्धा गरिरहेका छन् । [caption id="attachment_23103" align="alignnone" width="1024"]goduli गोधुली कप बारे जानकारी दिँदै आयोजक गोधुली क्लवका पदाधिकारीहरु । तस्बिरःब्लाष्ट/भोजराज[/caption] एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगिता माघको ८ गतेसम्म चल्ने छ । प्रतियोगितामा यसपटक ७ वटा वडाहरुले सहभागिता जनाएका छैनन् । धरानको प्रतिष्ठित सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको विजेताले यसपटक ७५ हजार रुपैयासहित रनिङ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले ४० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने क्लवका अध्यक्ष देशकुमार राईले बिहीबारको पत्रकार सम्मेलनमा बताए । आयोजक गोधुली क्लवले विजेताको पुरस्कार राषीमा २५ हजार रुपैया वृद्धि गरेको छ भने उपविजेतामा ५ हजार रुपैया वृद्धि गरेको छ । १६ औं संस्करणसम्म विजेताले ५० हजार र उपविजेताले ३५ हजार रुपैया प्राप्त गर्दै आइरहेको थियो । २०५० सालदेखि निरन्तर हुँदै आइरहेको प्रतियोगिताको कुल लागत ५ लाख ७९ हजार एकसय रुपैया लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा धरान–३, ६, ७, ८, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २६ र २७ वडा नम्बरहरुले स्पर्धा गरिरहेका छन् । जसमध्ये धरान–१९ सर्वाधिक गोधुली विजेता टिम हो । उसले हालसम्म ६ वटा गोधुली कप हात पारिसकेको छ । त्यस्तै धरान–८ ले चारपटक, धरान–११ ले तीनपटक, धरान–१८ ले २ पटक र धरान–१५ ले एकपटक उपाधि उचालिसकेका छन् । यसवर्षको उद्घाटन खेल सर्वाधिक विजेता धरान–१९ र पन्ध्रौ संस्करणको विजेता धरान–१५ बीच हुने छ । धरान–१९ साविक विजेता वडासमेत हो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोकृष्ट खेलाडी, वेष्ट गोलरक्षक, उदयिमान खेलाडी र फाइनल खेलको म्यान अफ दि म्याच खेलाडी र अनुशासित टिमले नगदसहित ट्रफी पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद १० हजार रुपैया पाउँदा सर्वाधिक गोलकर्ता र अनुशासित टिमले जनही नगद ५ हजार र अन्य खेलाडीहरुले २५ सयका दरले नगद प्राप्त गर्ने क्लवका उपाध्यक्ष सतिस केसीले बताए । प्रतियोगितालाई रेडबुलले मूख्य प्रायोजन गर्दै आइरहेको छ भने स्थानीय उदय सामुदायिक वन उपभोक्ता समूहले सह प्रायोजन गरिरहेको छ । गतवर्ष २२ वटा वडाहरुले सहभागिता जनाएका थिए । यसवर्ष धरान–४ र ९ नम्बर वडाले सहभागिता नजनाएको उपाध्यक्ष केसीले बताए । गोधुलीले हालसम्म करिव २७ जना ए डिभिजन खेल्ने खेलाडीहरु उत्पादन गरिसकेको छ । क्लवले प्रतियोगिताको टाइसिटसमेत सार्वजनिक गरिसकेको छ । समूह ए तर्फ धरान–२०, १९, १५, १८, ३, २६, १०, २३ र ८ छन् भने समूह विमा धरान २७, १२, ६, ११, २२, १३, २१, १४, ७ र १६ रहेको छ । समूह ए तर्फ धरान–२० र ८ बाइमा परेका छन् भने समूह बि मा धरान–२७ र १६ बाइमा परेका छन् ।