phagunanda cup photoपाँचथर/ पुष १५ गतेदेखि सुरु भएको आठौं टूबोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि झापाको बिर्ता युनाइटेड क्लवले उचालेको छ । फिदिम उच्च माविको खेल मैदानमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ गोलअन्तरले स्तब्ध पार्दै बिर्ता युनाइटेडले उपाधिमाथि हक जमाएको हो ।

बिर्ता युनाइटेडका लागि दोस्रो हाफको २६ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटमा कर्णसिं सोनामका रजिन धिमालले फ्रि किक बाट गोल गर्दै अग्रता भङ्ग गरेर नतिजालाई बराबरीमा ल्याए । खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको समयलाई सदुपयोग गर्दै बिर्ता युनाइटेडका लागि बुद्ध चेम्जोङले गोल गरे । बुद्धको त्यहीं गोल नै बिर्ता युनाइटेडका लागि उपाधि चुम्न पर्याप्त बन्यो । दोस्रो पल्ट उपाधि चुम्ने कर्णसिं सोनाम ताप्लेजुङको सपना यसपल्ट अधुरो रह्यो । प्रतियोगिताको च्याम्पियन बिर्ता युनाइटेडले ट्रफि सहित नगद दुई लाख ५० हजार प्राप्त ग¥यो । उप बिजेतामा सिमित कर्णसिं सोनामले ट्रफि र नगद एक लाख ५० हजारमा तित्त बुझायो । खेलको म्यान अफ् दि म्याच कर्णसिं सोनाम ताप्लेजुङका स्ट्राइकर सुनिल वल बने ।

प्रतियोगिताको छ वटा उत्कृष्ठ बिधाको पुरस्कार बिर्ता युनाइटेडका खेलाडिले हात पारे । जसमध्ये उत्कृष्ठ गोलकिपर मनोज प्रधान, उत्कृष्ठ डिफेन्डर देवेन्द्र तामाङ, उत्कृष्ठ फरवाड विकेश लिम्बू, सर्बाधिक गोलकर्ता कर्ण लिम्बू (पाँच गोल), सर्बोकृष्ठ खेलाडि योगेश गुरुङ र सर्बोकृष्ठ प्रशिक्षक नरेन्द्र लिम्बू घोषित भए । त्यस्तै उत्कृष्ठ मिडफिल्डरको पुरस्कार भने कर्णसिं सोनामका निराजन खड्का र उदयमान खेलाडि फिदिम स्पोर्टिङका सरन बस्नेतले प्राप्त गरे । उत्कृष्ठ खेलाडि घोषित कर्ण लिम्बूले दश हजार र अन्य सबै उत्कृष्ठ खेलाडि र प्रशिक्षक नरेन्द्रले जनही पाँच–पाँच हजार प्राप्त गरे । नेपालका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको स्मृतिमा फिदिम स्पोर्टिङ क्लवले हरेक वर्ष फाल्गुनन्द गोल्डकपको आयोजना गर्दै आएको छ । यसअघि आठ टिमलाई मात्र समावेश गर्दै आएको आयोजकले यसपल्ट दश टिमलाई सहभागि गराउँनुका साथै पुरस्कार राशी समेत बृद्धि गरेको हो । आगामी वर्षहरुमा प्रतियोगितालाई जिल्लाकै नमूना फुटवल टुनामेन्टको रुपमा विकास गरेर जाने योजना रहेको फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले बताए ।

स्व.प्रजापति–जल्पादेवी पत्रकारिता पुरस्कार गौतमलाई यसैबीच नेपाल पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा फिदिम स्पोर्टिङ क्लवले सञ्चालन गर्ने गरी स्थापना गरिएको ‘स्व.प्रजापति–जल्पादेवी खेलकुद पत्रकारिता पुरस्कार’ पत्रकार लक्ष्मी गौतमलाई प्रदान गरिएको छ । फिदिमका समाजसेवी तथा व्यवसायी हरि प्रसाद नेपालले आफ्ना दिवाङ्गत माता–पिताको स्मृतिमा स्थापना गरेको सो पुरस्कार यो वर्ष दि हिमालयन टाइम्स तथा सगरमाथा टेलिभिजनका पाँचथर समाचारदाता गौतमलाई प्रदान गरिएको हो । हरेक वर्ष आयोजना हुने फाल्गुनन्द गोल्डकपको समापन समारोहको दिन वितरण गरिने दश हजार राशीको उक्त पुरस्कार समारोहका प्रमुख अतिथि पूर्व सांसद वशन्त कुमार नेम्बाङले पत्रकार गौतमलाई वितरण गरेका थिए ।