धरान/चौथो युनाइटेड गोर्खा एकेडेमी भलिबल रनिङ कप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा छात्रछात्रा तर्फ आयोजक युनाइटेड गोर्खाको वि टिम विजयी बनेका छन् । [caption id="attachment_23923" align="alignnone" width="1024"] युनाइटेड गोर्खा एकेडेमीमा मंगलबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा सर्ट हान्दै ज्ञानदर्पण तरहराका खेलाडी । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] एकेडेमीको भलिबल कोर्टमा जारी खेलमा सुनसरीका १३ विद्यालयका १३ छात्र र १० छात्रा टिमहरुबी भिडन्त हुँदै छ । छात्र तर्फको पहिलो खेलमा युनाइटेड बि ले तरहराको ज्ञानदर्पण बोर्डिग स्कुललाई २–१ को सेटमा हराएको छ । पहिलो सेटमा युनाइटेड २१–२५ मा खेल गुमाउँदा दोस्रो सेटमा २५–१५ र तेस्रो सेटमा २५–२० बनाउँदै जितेको थियो । त्यस्तै छात्रको दोस्रो खेलमा प्रहरी आवासीय विद्यालयले कारमेल स्कुललाई २५–६ र २५–८ को सोझो सेटमा हराएको छ । छात्रा तर्फको पहिलो खेलमा युनाइटेड गोर्खा बि ले इटहरीको लिटल फ्लावर्सलाई २५–२० र २५–१४ को सेटमा हराएको छ । त्यस्तै छात्राको दोस्रो खेलमा इटहरीको सेक्रेट हार्टले धरानको डिपो उच्चमाविको टिमलाई २५–२१ र २५–१६ को सोझो सेटमा हराएको छ । प्रतियोगिता सेमीलिगकम नकआउट आधारमा भइरहेको छ । आज (बुधबार) छात्रतर्फ ५ खेल हुने छन् भने छात्रा तर्फ ४ वटा खेलहरु हुने आयोजक युनाइटेड गोर्खा एकेडेमीले जनाएको छ । माघ ९ गतेसम्म चल्ने प्रतियोगितामा विजेता तीनवटा टिमले क्रमशः १२ हजार, ९ हजार र ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने प्रिन्सिपल पेम्बा शेर्पाले बताए ।