इटहरी / इटहरीमा जारी स्वर्गीय महेन्द्रनारायण निधी स्मृति फूटवल प्रयतियोगितामा विराटचौक भेट्रान्स क्लबले फाइनलको यात्रा तय गरेको छ । मंगलबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक द योङ ब्रदर्स भेट्रान्सलाई ट्राइब्रेरमा ५–४ गोलको अन्तरले पराजित गर्दै विराटचौक विजेताको दावेदार भएको हो । विजेता विराटचौकले फाइनल खेल आगामी विहीबार इटहरीको जनता स्कुलको खेल मैदानमा पूर्वाञ्चल भेट्रान्स क्लबसँग प्रतिष्पर्धा गर्ने आयोजक समितिका बुद्धहाङ लिम्बूले जनकारी दिए ।
मंगलबार भएको खेल निर्धारित समयमा दुवै तर्फबाट गोल नभए पछि ट्राइब्रेरमा विराटचौकका तर्फबाट दिपक भण्डारी, इस्माइल मिया, विमल लिम्बू, कृष्ण लिम्बू र ताराबहादुर खम्बूले गोल गरेका थिए । यसै गरी आयोजक टीमको तर्फबाट तीर्थबहादुर याक्सो, सञ्जीव सिहं, सुमन श्रेष्ठ र विनोद पासवालने गोल गरे ।
आयोजकका भूवन राई र उमेश राईले गोल गर्न सकेनन् । खेलमा विराटचौकका चन्द्र लिम्बू म्यान अफ द म्याच घोषित भए । विहीबार हुने फाइनल खेलमा विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । द योङ ब्रदर्श क्लब र सिद्धार्थ युवा क्लबको आयोजनामा इटहरीको जनता स्कुलको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।