धरान/पन्ध्रौं आहा रारा गोल्डकपमा धरानको टिम धरान फुटबल क्लवले विभागीय टिम एपिएफलाई हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा धरानले विभागीय टिम सशस्त्र प्रहरी बल एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो । धरानबाट अतिरिक्त समयको दोस्रो हाफमा दीपक राईले निर्णायक गोल गर्दै जिताएका हुन् । ९० मिनेटको निर्धारित समयसम्म दुबै तर्फबाट गोलरहित बराबरी खेलेपछि थपिएको अतिरिक्त समयको दोस्रो हाफमा दीपकले गोल गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धरान र एपिएफले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा झिनो गोल अन्तरले हारजित भएको हो । खेलको धरानका गोलरक्षक पूर्ण चेम्जोङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयासहित ट्रफी पाएको आयोजक साहारा क्लवका बरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवबहादुर थापाले बताए । भोलीको खेल झापा ११ र एएनए युएसए फुटबल टिमबीच हुने आयोजकले जनाएको छ ।