धरान /अन्तरवडा स्तरीय सत्रौं रेडबुल गोधुली रनिङ कपको उपाधि धरान–१३ ले उचालेको छ । एन्फा एकेडेमीको खेल मैदानमा शनिबार सम्पन्न फाइलन खेलमा आयोजक धरान–१७ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो । उपाधिसँगै नगद ७५ हजार रुपैयासहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको धरान–१७ ले नगद ४० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । धरान–१७ टाइब्रेकरमा हारेको यो छैठौं पल्ट हो ।

निर्धारित ७० मिनेटका खेलमा दुबै तर्फबाट गोलरहित बराबरीमा टुंगिएपछि सिधै टाइबे्रकर भएको थियो । टाइब्रेकरमा धरान–१३ बाट सुविन याक्खा, अर्वीन चहार, निश्चल श्रेष्ठ, र अशोक कटुवालले गोल गर्दा कप्तान खगेन्द्र खड्काको बल माथिल्ला बारबाट बाहिरिएको थियो । यता धरान–१३ बाट हेमन्त थापा मगर, सुजन शर्माले गोल गर्दा मीलन राईको गोल माथिल्लो बारबाट बाहिरिँदा चाल्र्स राईको गोल माथिल्लो बारमा लागेर रिवण्ड भएको थियो ।

प्रतियोगितामा धरान–१३ ले पहिलो हाफको ३२ मिनेट विवेक राईको गोल बारमा ठोक्किर फर्किएको थियो भने दोस्रो हाफको १३ औं मिनेटमा रविन लिम्बूको गोललाई विपक्षी गोलरक्षकले सुन्दर बचावट गरेका थिए । फाइनल खेलको म्यान अफ दि म्याच धरान–१३ का विवेक राई घोषित हुँदै नगद ३ हजार रुपैयासहित ट्रफी प्राप्त गरे । त्यस्तै वेष्ट गोलकिपरमा धरान–१७ का सन्तोष कार्की घोषित हुँदै नगद ३ हजार रुपैयासहित ट्रफी पाए । अनुशासित टिममा धरान–१८ घोषित हुँदै ट्रफी प्राप्त गरेको छ । त्यस्तै उदयिमान खेलाडीमा धरान–१७ का अस्वीन तोलाङ्गी घोषित हुँदै नगद ३ हजार रुपैया पाए ।

खेलको सर्वाधिक गोलकर्ता धरान–२७ का तपन कार्की घोषित भए । उनले खेल अवधिभर ४ गोल गरेका थिए भने उनले नगद ५ हजार रुपैयासहित ट्रफी पाए । खेलको सर्वोकृष्ट खेलाडीमा धरान–१७ का हेमन्त थापा मगर घोषित हुँदै नगद १० हजार रुपैयासहित ट्रफी पाएका छन् ।

विजेता उपविजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एव्म धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राई, आयोजक गोधुली क्लवका अध्यक्ष देशकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । पुष २३ गतेदेखि सुरु भएको प्रतियोगितामा धरानका २० वटा वडाहरु स्पर्धा गरेका थिए ।