इटहरी/इटहरीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा बालविकास स्कुल र सेक्रेटहार्ट स्कुल सेमीफाइनल प्रवेश गरेका छन् । मङ्गलबार भएको पहिलो खेलमा पशुपति इङ्लिस बोर्डिङ स्कुललाई १० रनले पराजित गर्दै बालविकासले सेमी फाइनलको यात्रा तय गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको बालविकासले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । जसका लागि समिर खानले ५२ र पिपिन तिम्सिनाले २४ रन बनाएका थिए । जवाफी व्याटिङमा आएको पशुपति स्कुल सम्पूर्ण ओभर समाप्तिसँगै एक सय १४ रनमा समेटिएको थियो । पशुपति स्कुलका निश्चल रिजालले २२ र सन्तोष ओझाले २३ रन बनाएका थिए । प्रतियोगितामा बाल विकासका पिपिन कटुवाल म्यान अफ दी म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा सेक्रेट हार्ट स्कुलले गोदावरी विद्या मन्दिरलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको गोदावरीले १४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनको लक्ष्य दिएको थियो । जसमा गोदावरीका दिप्सन दाहालले १८ र मनिष कार्कीले १४ रन बनाएका थिए । जवाफमा सेक्रेटहार्टले ९ ओभरमा २ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गरेको थियो । सेक्रेटहार्टका लागि धीरेन राईले ५७ रन र संयोग अधिकारीले २० रन बनाएका थिए । खेलमा सेक्रेटहार्टका धीरेन राई म्यान अफ दी म्याच घोषित भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत बुधबार हुने सेमीफाइनल खेल डिभिएम ग्लोवल स्कुल र बालविकास इङ्लिस बोर्डिङ तथा दोख्रो खेल लिटिल प्mलावर स्कुल र सेक्रेटहार्ट बोर्डिङ स्कुलबीच हुने आयोजक समितिका सीपी पौडेलले जानकारी दिए ।