काठमाडाै/ झण्डै ३ दशक भन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो जवानी काटेकी करिश्मा पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा सक्रिय छिन् । विस्तारै चलचित्र अभिनयबाट टाढा रहँदै आएकी करिश्मा अभिनेत्री मात्र नभएर निर्मात्री पनि हुन भन्ने कुरा प्राय सबैलाई थाहा छ ।

अभिनयमा सधै हिट भएपनि करिश्मा चलचित्र निर्माणमा भने अहिलेसम्म सफल सावित हुन सकेकी छैनन् । ‘बाबुसाहेब’, ‘फागु’ चलचित्र निर्माण गरिसकेकी करिश्मा २०१७ भित्रै नयाँ चलचित्र निर्माण गर्दैछिन् । हाल स्क्रिप्टको काम चलिरहेको बताउने करिश्मा उक्त चलचित्रमा आफ्नै छोरी कविता मानन्धरलाई हिरोइन बनाउँदैछिन् । करिश्माले छोरी कवितालाई नै ध्यानमा राखेर हाल चलचित्रको स्क्रिप्टको लेखन कार्य चलिरहेको बताइन । उनले भनिन्, ‘कविताले काम गर्न खासै चासो त देखाएकी छैनन् तर मलाई के लाग्छ भने उनलाई नेपाली चलचित्रमा काम गर्ने रहर छ । यसअघि उनले सरोज दत्ताको आवाजमा रहेको ‘भैगो’ बोलको म्यूजिक भिडियोमा मोडलिंग गरेकी थिइन त्यसबाट पनि उनलाई चलचित्र काम गर्ने रहर छ भन्ने मलाई लाग्छ ।’

उनले अगाडी थप्दै भनिन्, ‘मलाई चाहिँ एकदमै इच्छा छ कवितालाई हिरोइन बनाउने । तर उनी अहिले अलि मोटी भएकी छिन् । म जसरी भएपनि उनलाई दुब्लाउन लगाउँछु । उनले चलचित्रमा आफ्नो ठाउँमा अरु नै राख्नुस् न भनिरहेकी छिन् किनकी उनलाई आफुले काम सक्दिन कि भन्ने डर छ । म अहिले उनलाई मोटिभेट गरिरहेको छु ।’ अहिले कविता अध्ययनको शिलशिलामा अमेरिकामा बस्दै आइरहेकी छिन् ।