बिर्तामोड/ उपाधिको दावेदार मानिएको मनाङ मस्र्याङदी कलबले रमपम झापा गोल्डकपको सेमिफाइनलमा त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ । यो सिजनमा लयमा रहेको मनाङ मस्र्याङदीले सुदुर पश्चिमाञ्चलको खप्तड गोल्डकप र पोखराको आहा रारा गोल्ड जितेर झापा आएको थियो ।

एकपछि अर्काे जीतलाई निरन्तरता दिंदै काठमाडौँको न्यू रोड टिम (एनआरटी)लाई ४–० ले हराउँदै मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।डोमालाल राजवंशी रङ्गशालामा फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मनाङले एनआरटीलाई ४–० गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । शनिबार हुने दोश्रो सेमिफाइनलमा मनाङको भेट विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हुनेछ ।६ जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको मनाङले सुरुवातदेखि नै खेल आफ्नो पकडमा राखेको थियो । एनआरटीले रक्षात्मक खेल प्रदर्शन गर्न खोजे पनि मनाङ आक्रमक रुपमा प्रस्तुत भयो । मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोलेको हो ।

पहिलो हाफको २५ औं मिनेटमा विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । त्यसको २ मिनेटलगत्तै अर्थात खेलको २७औँ मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । उनले ओलावालेकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । ३४औँ मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता ३–० पारे । सुशील लामाले डी एरियाभित्र मिलाइदिएको पास ओलावालेले छोडे पनि निराजनले आकर्षक ढङ्गले जाली चुमाए ।दोस्रो हाफमा पनि मनाङको गोल गर्ने क्रम रोकिएन । खेलको ५९औँ मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे ।

विशाल राईको पासमा ओलावालेले शानदार गोल गरेका हुन् । यसअघि खेलको २०औँ मिनेटमा मनाङका सुजल श्रेष्ठको फ्रि–किक बार माथिबाट बाहिरिएको थियो । ३० औँ मिनेटमा एनआरटीका प्रविन गुरुङको कडा प्रहार बाहिरियो । ३१औँ मिनेटमा मनाङका ओलावालेको प्रहार एनआरटीका गोलरक्षक सन्देश गुरुङले बचाउ गरे । जीतपछि पोष्टम्याच कन्फ्रेन्समा कुरा गर्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले बिपक्षी टीमको फिनिसिङ कमजोर भएकाले सहज रुवमा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए । उनले यही प्रदर्शनले सेमीफाइनलमा जित निकाल्न नसकिने बताउँदै रणनीति परिवर्तन गरिने जानकारी दिए । मनाङका भरपर्दा स्ट्राइकर अनिल गुरुङपनि अर्काे खेलमा उपस्थित हुने जानकारी उनले दिए ।

एनआरटीका प्रशिक्षक श्याम मालीले नयाँ टिम भएका कारण जीत निकाल्न नसकिएको बताए । उनले छोटो समयको तयारीका कारण मनाङ जस्तो शसक्त टिमसँग हार ब्यहोर्नु परेको धारणा राखे । यसअघि एनआरटी र मनाङ मस्र्याङदीको पछिल्लो भेट राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भएको थियो । बिहीबारको खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए । उनलाई नगद ७ हजार रुपैयाँ सहित मेडल प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका केशवकुमार आचार्यलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत शुक्रबारबाट सेमिफाइनल संस्करण सुरु हुँदैछ । शुक्रबारको पहिलो सेमिफाइनल खेलमा आयोजक टोली झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौँबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य जेके गुरुङ्गले जानकारी दिए । घरेलु टोली झापा–११ बलियो टोली हो । घरेलु दर्शकको भरपुर समर्थन पाउने झापा–११ हिमालयनलाई हराउँदै अन्तिम दुईमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

झापा ११ का लागि दुइ बिदेशी सहित कप्तान प्रवेश कटुवाल, कर्ण लिम्बू, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, सञ्जोग राई, लगायतका खेलाडी मैदानमा देखिनेछन् ।उता हिमालयन शेर्पामा भने हेमन गुरुङ, निराजन खड्का, निशान लिम्बू, भूपाल गुरुङ, सुनिल बल लगायतका खेलाडी हेर्न लायकका हुनेछन् । यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।