बिर्तामोड/ झापाका स्ट्राइकर कर्ण लिम्बु चम्कँदा रमपम झापा–११ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । झापाले पहिलो सेमिफाइनलमा काठमाण्डौको हिमालयन शेर्पा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।अन्यदिन भन्दा अत्यानत प्रतिष्पर्धात्मक देखिएको खेलमा कर्ण एक्लैले दुइ गोल गरेका थिए ।

झापाका लागि बुद्व चेक्जोङ र खमिर गिल्सन कन्दङवाले समेत एक एक गोलको स्कोर गरेका थिए । फाइनल प्रवेशसँगै झापाले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।खेलको पहिलो हाफमा झापाले १–० को अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गोलको खाता खोलेका हुन् । रजिन धिमालको लामो पासलाई कर्णले हेडमार्फत सुन्दर गोल गरे । पहिलो हाफमा १ शुन्यले अघि रहेको झापाले दोस्रो हाफमा थप ३ गोल ग¥यो ।

कर्णले नै व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २–० को अग्रता दिलाए । खेलको ७९औँ मिनेटमा डी–बक्सभित्र बुद्ध चेम्जोङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्णले बललाई जाली चुमाएका हुन् । झापाका लागि तेस्रो गोल बुद्ध चेम्जोङले गरे । खेलको ८७औँ मिनेटमा दिलेन लोक्तामको पासमा उनले झापालाई ३–० को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा झापाका सबिसच्यूट खेलाडी खमिर गिल्सन कन्दङ्बाले गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चत गरे । उनले पुजन उपरकोटीको पासलाई डिएरिया बाहिरबाट दायाँ बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । यसअघि खेलको छैठौँ मिनेटमा झापाका कप्तान नगेन्द्रमणि लिम्बूले गोल लाइनको नजिकैबाट पुस गरेको बल बाहिरिएको थियो ।

२२ औँ मिनेटमा झापाका सञ्जोग राईको लामो प्रहारले सहि दिशा लिन सकेन । खेलको ३३ औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले १–१ को बराबरी गर्ने सुनौलो अवसर गुमाए । उनको कढा प्रहार पोलमा लागेर फर्कियो ।दोस्रो हाफको २४औँ मिनेटमा हिमालयनका निशाल लिम्बूले हेड गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बाहिर फ्याँकेका थिए । झापा–११ र हिमालयन शेर्पाको यसअघि एकपटक मात्र भेट भएको थियो ।

मङ्सिरमा सम्पन्न काँकरभिट्टा गोल्डकपमा झापाले टाइब्रेकरमा हिमालयन शेर्पालाई ४–३ गोलअन्तरले पाखा लगाएको थियो । जीतपछि झापाका प्रशिक्षक सञ्जय राईले आफ्ना खेलाडीले मेहेनत गरेका कारण परिणाम सकारात्मक आएको प्रतिक्रिया दिए । उनले यो खेलको मिडफिल्डमा देखिएको कमजोरी फाइनलमा सुधार गर्ने बताए । हिमालयन शेर्पाका प्रशिक्षक बिकास गौचनले खेलाडीबीच तालमेल नमिलेका कारण हार ब्यहोर्नु परेको बताए । उनले नयाँ टीम भएका कारण प्रशिक्षणको कमी महसुुुुुुस खेलमा भएको बताए । झापाले शुरुमै गोल गरेर दवावमा राखेर खेलेका कारण आफ्ना खेलाडी खुलेर खेल्न नसकेको उनको भनाई थियो । शुक्रबारको खेलको म्यान अफ द म्याच झापा–११ बाट २ गोल गर्ने कर्ण लिम्बू घोषित भए ।

उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शक हरी मैनालीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच हुनेछ । आर्मीले मङ्गलबार रुपन्देही–११ लाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको थियो । मनाङले भने बिहीबार काठमाडौँको एनआरटीलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

फाइनल प्रवेशका लागि हुने यी दुई टोलीबीचको प्रतिष्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।दुबै टोलीमा चर्चित राष्ट्रिय खेलाडी छन् । आर्मीका लागि कप्तान भरत खवाससँगै चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ, लगायतका खेलाडी मैदानमा देखिनेछन् । मनाङमा निराजन मल्ल, सुशील लामा, विदेशी खेलाडी ओलावाले, विशाल राईलगायतका खेलाडी हेर्न लायकका हुनेछन् ।