बिर्तामोड / एक महिनाको अवधिमा तीनवटा गोल्डकपको उपाधी जित्दै मनाङ मस्र्याङदी क्लबले उपाधिमा ह्याट्रिक गरेको छ । झापामा भएको दोस्रो रमपम झापा गोल्डकप जितेसँगै मनाङले उपाधिमा ह्याट्रिक पुरा गरेको छ । एक महिना अघि सुदुर पश्चिमको धनगढीमा भएको खप्तड गोल्डकप र गत साता पोखरामा सम्पन्न आहा रारा गोल्डकप जितेर झापा आएको मनाङले घरेलु टोली झापा ११ लाई शुन्यका बिरुद्व १ गोल गर्दै उपाधी हात पारेको छ ।
उपाधीसँगै मनाङले ७ लाख नगद समेत प्राप्त गरेको छ । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । फाइनल खेलमा १५ हजार बढी दर्शकको समर्थन पाएको झापा पराजित हुँदा दर्शक समेत निरास बनेका थिए ।यी दुई टोलीबीचको फाइनल खेल प्रतिस्पर्धात्मक बनेको थियो । यद्दपि, झापाले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नु प¥यो । खेलको पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो । यो सिजनकै सशक्त टोली मानिएको मनाङ खेलको सुरुवाती १५ मिनेट निकै आक्रमक बन्यो । खेलको १५ मिनेटपछि लयमा फर्किएको घरेलु टोली झापाले त्यसपछि पहिलो हाफभरि मनाङलाई दवावमा राख्यो । दोस्रो हाफमा दुबै टोली झन शसक्त बनेका थिए । खेलको ६३ औँ मिनेटमा मनाङका ओलावालेले गोलको खाता खोले । बिदेशी खेलाडी सिसोकोले प्रहार गरेको बल झापाका गोलरक्षकधको हातबाट फुत्किएपछि अर्का बिदेशी खेलाडी ओलावालेले बललाई जाली चुमाएका हुन् ।
त्यही एउटा गोल नै मनाङका लागि उपाधी हात पार्न सफल बनेको थियो । झापाको मिडफिल्ड कमजोर बन्दा गोलका मुभहरु बन्न सकेका थिएनन् । प्राविधिक खेलमा झापा ए डिभिजन क्लबमध्ये उत्कृष्ठमा पर्छ । झापाको राम्रो पक्ष नै मिडफिल्ड हो । फाइनल खेलमा मिडफिल्ड कमजोर बनेकोले गोलका मुभ नबन्दा स्ट्राइकरले समेत खुलेर खेल्न सकेका थिएनन् ।खेल अवधिभर दुबै टोलीले गोल गर्ने सुन्दर अवसरहरु खेर फालेका थिए । खेलको १५औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गरेको हेड पोष्टबाट बाहिरियो ।
रञ्जित श्रेष्ठको फ्रि–किकमा कर्णले गरेको हेड बाहिरिएको थियो । त्यसैगरी १७ औँ मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठकोे प्रहार पनि फ्रेममा पर्न सकेन । १९औँ मिनेटमा मनाङका विदेशी खेलाडी ओलावालेले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बचाए । ३२ औँ मिनेटमा झापाका कप्तान कर्णको प्रहार बाहिरियो । उनलाई सञ्जोग राईले लामो पास मिलाइदिएका थिए । ३९ औँ मिनेटमा झापाका खेलाडी रजिन धिमालको कडा फ्रि–किक मनाङका गोलरक्षक दिनेश थापाले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए ।
४३ औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलरक्षक थापाले विफल पारे । दोस्रो हाफको ८ औँ मिनेटमा झापाका सञ्जोग राईको प्रहारले सही दिशा लिन सकेन । १३औँ मिनेटमा मनाङका निराजन मल्लको प्रहार पनि बाहिर गयो । १६ औँ मिनेटमा मनाङका कप्तान सुजलले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपाने बिट भइसक्दा पनि पोष्टमा लागेर फर्किएको थियो । २७ औँ मिनेटमा झापाका कर्ण लिम्बुले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापाले समाए । दोस्रो हाफको ४२ औँ मिनेटमा झापाका रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले १–१ गोलको बराबरी गर्ने मौका गुमायो ।
खेलमा रेफ्रि लव खत्रीले मनाङका कप्तान सुजल श्रेष्ठ, ओलावाले र सुशील लामालाई पहेँलो कार्ड देखाए । सेमिफाइनलमा मनाङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई घर फर्काउँदै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको थियो । हिमालयन शेर्पालाई पन्छाउँदै घरेलु टोली झापा–११ फाइनल पुगेको थियो ।गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा भने मनाङ आर्मीसँगै पराजित भएको थियो । यसअघि झापा र मनाङको भेट ६ पटक भएको थियो । जसमा मनाङले ४ र झापाले २ खेल जितेको रेकर्ड छ । फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए ।
उनलाई नगद १५ हजार रुपैयाँ प्रदान गरियो । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका दुईजना प्रशुल मगर र भूपाल राईलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै जनही नगद ५ हजार प्रदान ग¥यो ।प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र बुद्व चेम्जोङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । दुवै खेलाडीले प्रतियोगिता भर ३ गोलको स्कोर बनाएका थिए । उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए ।
उनलाई हिकोला हेरिटेजका देविभक्त श्रेष्ठले नगद १५ हजार प्रदान गरे । उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उनलाई महेन्द्र गुजराज ट्रयाक्टरका तर्फबाट नगद १५ हजार प्रदान गरियो । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उनलाई पावर टेक कम्प्युटरका तर्फबाट १५ हजार ६ सय बराबरको एन्ड्रोइड मोवाइल र नगद १५ हजार प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ बनेका छन् ।
प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो । आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।