काठमाडौं / पाकिस्तान, मलेसिया र दुबईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधि गर्दैआएका पाँचजना नेपालीलाई बारा प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेपछि नयाँ तथ्य सार्वजनिक भएको छ ।
दुबईमा बसेर आईएसआईको एजेन्टको रुपमा कार्यरत् बारा कलैया नगरपालिका–८ का सम्सुल होदा दोस्रो संविधानसभाको निर्वाचनमा साढे दुई करोड ऋण लागेपछि आईएसआईमा संलग्न भएको खुलासा भएको छ ।
होदाले दुबईमा बसेर अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधि गर्दैआएका थिए । केही समयअघि होदाकै निर्देशनमा दुई भारतीय युवकको हत्यामा संलग्न चारजनाको नाम मङ्गलबार बारा प्रहरीले सार्वजनिक गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो । होदासँगै मङ्गलबार बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ वर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका–४ का २४ वर्षीय आशिष सिंह, कलैया नगरपालिका–१० का ३५ वर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका–४ का २३ वर्षीय उमेश कुमार सार्वजनिक भएका छन् ।
होदाले दोश्रो संविधानसभाको निर्वाचनमा बाराको क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका तर्पmबाट प्रत्यक्षतर्पm चुनाव लडेका थिए । उनी चुनावमा ६३ मत मात्र प्राप्त गरी पराजित भएका थिए ।
चुनावमा साढे दुई करोड रुपैयाँ ऋण लागेपछि उनी दुई वर्ष पहिले दुबई गएका थिए । दुबईमा पुगेपछि उनको अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग सम्पर्क भएको र दुई वर्षयता उनले त्यही गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधि गर्दैआएको अनुसन्धानका क्रममा खुलेको बाराका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
शुरुमा भारतीय जाली नोटको कारोबारमा लागेका होदाले केही समययता दुबईमा बसेर आईएसआईको निर्देशनमा भारतको विभिन्न स्थानमा रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा बम विस्फोट गराउने गतिविधि गर्दैआएको प्रहरीले बताएको छ ।
‘होदाले काम गर्दै आएको अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा नेपालका अरु चार–पाँच जना पनि संलग्न रहको सूचना प्राप्त भइसकेको छ’, एसपी उप्रेतीले भने ,‘उनीहरुको पहिचान भइसकेको छ, पक्राउ गर्न मात्र बाँकी छ ।’
होदाले पाकिस्तान, मलेसिया, दुबई र भारतमा पटक–पटक पुगेर अन्तर्राष्ट्रिय आपराधिक गिरोहको बैठकमा सहभागी भएको अनुसन्धानका क्रममा खुलेको एसपी उप्रेतीले बताए ।