उदयपुर/ उदयपुर गोल्डकप फुटबलको चौथो संस्करण बिहीबारदेखि सुरु हुँदैछ । गाईघाटको थरुहट रंगशालामा हुने उद्घाटन खेलमा धरान फुटबल क्लब र संकटा क्लब खेल्दैछन् । प्रतियोगितामा ए डिभिजनका तीनसहित ८ टिमले भाग लिनेछन् । सिमरा गोल्डकपको फाइनल पुगेको संकटा बिहीबार दिउँसो उदयपुर पुग्ने आयोजक समितिका संयोजक किरण राईले जानकारी दिए ।
प्रतियोगितामा ए डिभिजनका संकटा, सशस्त्र प्रहरीको एपिएफ र हिमालयन शेर्पाले भाग लिनेछन् भने आयोजक उदयपुर ११, झापा ११, माेरङ ११, रुपन्देही ११, धरान फुटबल क्लब सहभागी छन् । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ उदयपुरको आयोजना रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
यस्तै सिमरामा चलिरहेको आठौं सिमरा गोल्डकपको फाइनल फाइनल प्रवेशका लागि बिहीबार नेपाल आर्मी र हिमालयन शेर्पा खेल्दैछन् । खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ । संकटा बुधबार विजय युथ क्लबलाई २–१ ले हराउँदै प्रतियोगिताको फाइनल पुगेको हो ।