काठमाडौं / नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन् ।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन् । नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन् ।

यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए । त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन् । टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो । सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो ।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन् । पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो ।