काठमाडौं/नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने विश्वकै उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका छन् । बेलायतको क्रिकेट म्यागजिन ‘अलआउट क्रिकेट’ ले सार्वजनिक गरेको विश्वभरको २२ वर्षमुनीको उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा सन्दिप परेका हुन् ।

म्यागजिनले सार्वजनिक गरेको सूचीमा लेग स्पिनर सन्दिप लामिछाने ३० औं नम्बरमा परेका छन् । म्यागजिनले सन्दिपसँग लेग स्पिनमा बलिङ गर्ने धेरै तरिका रहेकोले सन्दिप भविष्यमा पाकिस्तानी स्टार बलर ‘यासिर शाह’ जस्तै हुने बताएको छ । यस्तै म्यागजिनले सन् २०१६ को यु–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध सन्दिपले ह्याट्रिक विकेट लिएको तथा विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उल्लेख गरेको छ ।

म्यागजिनले नेपाली टोलीको महत्वपूर्ण सदस्य १६ वर्षीय सन्दिपबारे भनेको छ, “लेग स्पिनर सन्दिपसँग बलिङ गर्ने हरेक तरिका छ ।  सन्दीपले शेन वार्नलाई आफ्नो आइडल मान्नेगर्छन । त्यसैले त सन्दिपले पूर्व अष्ट्रेलियन कप्तान माइकल क्लार्कलाई आकर्षित गर्दै क्लार्कको प्रायोजनमा उनले प्रिमियर ग्रेड क्लब वेस्टर्न सबर्बसबाट खेल्न र क्लार्कको एकेडेमीमा सिक्ने मौका पाए ।” त्यस्तै म्यागजिनले क्लार्कले सन्दिपबारे गरेको प्रसंसाको भनाइ समेत राखेको छ ।

बेलायतको प्रख्यात क्रिकेट म्यागजिन अलआउट क्रिकेटले हालसम्म ३० देखि १६ औं स्थानसम्मको उत्कृष्ट युवा क्रिकेट खेलाडीहरुको सूची मात्र सार्वजनिक गरेको छ । १५ देखी पहिलो नम्बरसम्मको सूची बिस्तारै सार्वजनिक गरिने म्यागजिनले जनाएको छ ।