अर्जेन्टिनाका एन्जेल डि मारिया र उरुग्वेका एडिन्सन काभानीले संयुक्तरुपमा तीन गोल गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मनी (पिएसजी) बाट ४–० को अकल्पनीय नतिजा भोग्नु पर्यो। नेपाली समयअनुसार बिहान ३ बजेर २२ मिनेटमा पेरिसको पार्क डे प्रिन्सेस रंगशालामा समाप्त भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा २ र दोस्रो हाफमा पनि २ गोल खायो। डि मारिया र काभानीको फेब्रुअरी १४ मै जन्मदिन परेको थियो। डि मारियाले खेल सुरु भएको १८ मिनेटमै फ्रिकिकमार्फत गोल गर्दै घरेलु समर्थकलाई २९ औं जन्मदिनको उपहार दिएका थिए। उनले दोस्रो हाफको ५५ मिनेटमा पनि अर्को गोल गरे।  काभानीले ७१ मिनेटमा गोल गरे। ३० वर्षमा प्रवेश गरेका काभानीको च्याम्पियन्स लिगमा सातौं गोल थियो। अर्को गोल जर्मनीका युवा विङ्गर जुलियान ड्राक्स्लरले गरे। उनले ४० मिनेटमा गोल गरेका थिए। बार्सिलोनाको मिड र डिफेन्स निकै फितलो थियो। पहिलो र दोस्रो दुवै हाफमा भ्रमणकारी टोलीका खेलाडीले त्यति प्रभावशाली खेल प्रदर्शन गर्न सकेनन्। बार्सिलोनाका तीनै जना स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमार प्रभावहीन देखिए। बार्सिलोनालाई गत शुक्रबार चोटग्रस्त भएका डिफेन्डर भिडालको कमी निकै खलेको थियो। च्याम्पियन्स लिगमा ४ गोलको स्पष्ट अन्तरले पराजित भएको बार्सिलोनाको पहिलो घटना हो।  सन् २००४ को क्वाटरफाइनलमा स्पेनको डिपोर्टिभो ला कोरुना इटालीको मिलान क्लबसँग पहिलो लेगमा ४–१ ले पराजित भएको थियो। दोस्रो लेगमा ला कोरुनाले ४–० ले मिलानलाई हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो। बार्सिलोनालाई अब क्वाटरफाइनलमा स्थान बनाउन आफ्नो घरेलु मैदान नोउ क्याम्पमा यस्तै खेल दोहर्याउनु पर्नेछ। बार्सिलोना सन् २००६–०७ को सिजन अन्तिम पल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्न असफल भएको थियो।