धरान । उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपमा काठमाडौंको सङ्कटा एफसीले विजयी सुरुवात गरेको छ । सङ्कटाले हालै आठौं सिमरा गोल्डकप उचालेको थियो ।
[caption id="attachment_29508" align="alignnone" width="600"]
तस्बिरहरुः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption]
धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा बिहीबारको उद्घाटन खेलमा सङ्कटाले पाहुना टिम दुर्गापुर स्टील कलकत्तालाई ३–२ गोलले हराउँदै अन्तिम ८ मा स्थान पक्का बनाएको छ । खेलमा सङ्कटाका विदेशी खेलाडी मार्टिन्स अजय, अनिल गुरुङ र सुशिल केसीले गोल गर्दा दुर्गापुरबाट विदेशी खेलाडी आका र सल्यादुन मिर्धाले गोल गरे ।
खेलको म्यान अफ दि म्याच दुर्गापुरका गोलरक्षक सुबान्धु घोष घोषित हुँदै नगद ५ हजार रुपैया प्राप्त गरेका छन् । सुरुवाती मिनेटमै सङ्कटाका मार्टिन्सले वान भरसेज वानमा गोल गर्दै अग्रता लिएका थिए । एक गोलले पछि परेको स्थिति उल्टाउँदै दुर्गापुरबाट २५ औं मिनेटमा आकाले हेडमार्फत् गोल गर्दै बराबरी गरे । उनले सुसान्त हेब्रनको क्रसपासलाई हेडमार्फत् गोल गरेका थिए ।
३६ औं मिनेटमा मार्टिन्सको पासमा संकटाका अनिल गुरुङले गोल गर्दै टिमलाई २–१ को अग्रता कायम गरे । तर, त्यो अग्रतालाई दोस्रो हाफको ७ औं मिनेटमा दुर्गापुरका सल्यादुनले गरेको फ्रिकिक बल रिवाउन्ड भएपछि पुनः गरेको प्रहार गोलमा परिणत भएको थियो । दुर्गापुरका सन्जोय बाग्दीलाई ठूलो डिबक्सको छेउमा लडाएपछि पाएको फ्रिकिकलाई सल्यादुन चुकेनन् ।
खेलको ३२ औं मिनेटमा संकटाका सुशिलले राज पौडेलको पासलाई गोलमा परिणत गरे । जुन गोल विपक्षी गोलरक्षकले पनि थाहा पाएनन् । खेलमा संकटाले आधा दर्जन अवसरहरु प्राप्त गरेको थियो भने दुर्गापुरले पनि त्यस्ता अवसरहरु खेर फालेका थिए । संकटाका विदेशी खेलाडी पेन्टिक जोनले गरेको प्रहारमा मार्टिन्सले हेड गरेको बल माथिल्लो बारमा ठोक्किएपछि दुर्गापुरका रक्षापंक्तिका खेलाडीले बचाए । दोस्रो हाफको १७ औं मिनेटमा दिपेश श्रेष्ठले गरेको कर्नर बल विपक्षी गोलरक्षकले सुन्दर बचावट गरे ।
२७ मिनेटमा मार्टिन्सको गोल विपक्षी गोलरक्षकले बचाएका थिए । ‘हामीले राम्रो चान्स पाएका थियौं । तर, सदुपयोग हुन सकेन ।’ संकटाका कोच सल्यान खड्गीले भने, ‘त्यो हुँदा खेल टफ भइदियो । हामीलाई जित्न गाह्रो भयो ।’ खेलाडीहरुले राम्रै खेले पनि खेल ५०–५० भएको उनले बताए । यता दुर्गापुरका प्रशिक्षक असिम रायले पनि खेलाडीहरुबाट दुईतीनवटा गोलहरु चुकेको कारणले पनि पराजय भोगेको बताए । उनले मिडफिल्डमा कमजोर देखिएको र आफ्नो खेलाडीहरु केही विरामी भएकाले सोचेजस्तो खेल्न नसकेको बताए ।
संकटाले यस अघि आठौं सिमरा गोल्डकप उचालेको थियो । यसलाई निरन्तरता दिने तयारीका साथ दोस्रो खेलमा प्रस्तुत हुने प्रशिक्षक खड्गीले बताए । दुर्गापुरले यस अघि इलाम गोल्डकपमा सहभागी जनाएर सेमिफाइनल खेलमा पराजित भएको थियो । भोली (शुक्रबार) को खेल साविक उपविजेता विभागीय टोली नेपाल पुलिस क्लव काठमाडौं र धरान पहेलो बीच हुने आयोजक धरान फुटबल क्लवले जनाएको छ ।
खेलको उद्घाटन नेपाली कांग्रेसका सांसद मिन बिकले गरेका थिए । बुढासुब्बामा यो पटक १० वटा टिमहरु सहभागी छन् । यसैबीच न्युयोर्क नेपलिज फुटबल क्लवका वाङ्ला लामाले क्लवलाई २५ हजार रुपैया सहयोग गरेको स्वास्थ्य उपसमितिका संयोजक हिमाल दाहालले बताए ।