धरान/उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपमा चारपटकको विजेता नेपाल पुलिस क्लव दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक धरान पहेलोलाई सडेन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाइलनमा प्रवेश गरेको हो । प्रहरीको लागि अन्तिम ३६ सेकेण्ड भाग्यमानी सावित भयो ।
अन्तिम ३६ सेकेण्ड बाँकी छदा अभिषेक रिजालले गरेको क्रसपासलाई बिक्रम धिमालले हेडमार्फत् गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलमा धरानबाट १५ औं मिनेटमा योगेश राईले ३५ यार्डबाट गरेको फ्रिकिक प्रहार सिधै जाली चुमेको थियो । त्यो गोललाई बराबरीमा ल्याउन पुलिसलाई निक्कै हम्मे परेको थियो । पुलिसले दोस्रो हाफमा धरानलाई दवाव सिर्जना गरे पनि गोल गर्नबाट चुक्दा अन्तिम समयसम्म पुलिस दवावमा खेल्नु परेको थियो ।
त्यही बराबरी गोल नै पुलिसका लागि क्वाटरफाइलनमा प्रवेश गर्ने मार्ग बन्यो । पुलिस र धरानले टाइब्रेकरमा ५–५ गोल भएपछि सडेन डेथबाट छिनोफानो भएको थियो । धरानबाट १० औं गोल प्रहारका क्रममा विवेक राई चुक्दा पुलिसबाट बिक्रम धिमाल नै हिरो सावित भए । १० औं नम्बरमा परेका बिक्रमले सडेन डेथको निर्णायक सावित भए । खेलको म्यान अफ दि म्याच धरानका हेम लिम्बू घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए । धरानबाट दोर्जे तामाङ, विनोद राई, दिवस मास्के, जोसन राई, योगेश राई, मनोज राई, रोमन लिम्बू, तीर्थ बस्नेत, हेम लिम्बूले गोल गरे । पुलिसबाट अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, जुमानु राई, अभिषेक रिजाल, निरकुमार राई, भोला सिलवाल, हेम तामाङ, मानबहादुर परियार र बिक्रम धिमालले गोल गरे ।
पहिलो हाफमा दवावमा खेलेको प्रहरी गोल गर्न नसक्दा अन्तिम मिनेटसम्म दवावमा खेल्नु परेको थियो । खेलाडीहरुले अन्तिम मिनेटमा होल्ड गर्न नसक्दा खेल पुलिसको पक्षमा गएको धरानका प्रशिक्षक सुवास केसीले बताए । उनले पुलिससँग धरानका खेलाडीहरु राम्रै प्रदर्शन गरेको बताए । यता प्रहरीका प्रशिक्षक कुमार कटुवालले खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेको बताउँदै अन्तिम मिनेटसम्म दवावमा खेल्नु परेको बताए ।
र, राम्रा अवसरहरु गोल हुन नसक्दा पनि दवाव थेग्नु परेको प्रशिक्षक कटुवालले बताए । उनले आयोजकले ९० मिनेटको खेल नखेलाइदिएको विषयमा गुनासो गरेका थिए । भोली (शनिबार) को खेल उदयपुर गोल्डकप विजेता रुपन्देही ११ र काकडभित्ता ट्रेनिङ सेन्टर झापाबीच हुने छ ।