धरान / हालै उदयपुर गोल्डकप विजेतो रुपन्देही–११ ले धरानमा जारी उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । अन्तिम चारमा प्रवेश गर्न रुपन्देही–११ ले टाइब्रेकरसम्म कुर्नु परेको थियो । रुपन्देहीले काकडभित्ता ट्रेनिङ सेन्टर झापालाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटसम्म दुबैतर्फबाट १–१ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफ बराबरी खेलेको दुबै टिमले गोलको अवसर ६१ औं मिनेटमा काकडभित्ताका गिल्सन लिम्बूले गरे । कर्नर प्रहारलाई रुपन्देहीका नुरनमणी लिम्बूले हेड गरेपछि उक्त बललाई नियन्त्रणमा लिँदै उनले गोल गरे । गोल खाएपछि केही दवावमा खेलेको रुपन्देहीले अन्तिम ४ मिनेट बाँकी छदा कालु थापाले बराबरी गोल फर्काए । उनले दिपक राईको फ्रिकिक प्रहारलाई गोलमा परिणत गरे । दोस्रो हाफमा रुपन्देहीको खेलाडीको खुट्टामा बल नियन्त्रण थियो । खेलको म्यान अफ दि म्याच रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए ।
झापाका प्रशिक्षक दीपक कार्कीले खेल ६०–४० को भए पनि अन्तिम चार मिनेट रोक्न नसक्दा हार बेहोर्नु परेको बताए । उनले भने, ‘अन्तिम चार मिनेट लुज भइदियो । खेलाडीहरुले नखेलेको होइनन् । पेनाल्टी ब्याडलक भइदियो ।’ खेलमा रुपन्देहीको झण्डै आधा दर्जन प्रहारहरु खेर गएको थियो । खेलको १२ औं मिनेटमा शिव सुवेदीले गरेका प्रहार बारमा लागेर डिवाउन्ड भएको थियो । त्यस्तै ३२ मिनेटमा अमर ढुंगेलको प्रहार पोष्ट बाहिर गएको थियो । ३३ मिनेटमा लक्ष्मण रुचालले गरेको क्रस प्रहार माथिल्लो बारमा लागेर रिवाउन्ड भएपछि विपक्षी टिमका रक्षापंक्तिका खेलाडीले बचाएका थिए ।
यस्तै झापाले पनि खेलको ३४ औं मिनेटमा विदेशी खेलाडी एलेनको पासलाई अर्का विदेशी खेलाडी एलेक्सले गरेको फितलो प्रहार दोस्रो बार भन्दा केही परबाट बाहिरिएको थियो । त्यो झापाको लागि सुनौलो अवसर हुन सक्थ्यो । त्यस्तै ४० मिनेटमा निशान लिम्बूको प्रहार विपक्षी गोलरक्षकले सुन्दर बचावट गरे । दोस्रो हाफका झापाले पाएको एकमात्रै सुन्दर अवसरलाई गोलमा परिणत गरेको थियो । त्यस्तै रुपन्देहीले पनि दोस्रो हाफको ७६ मिनेटमा पाएको फ्रिकिक गोलमा परिणत भयो । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले भर्खरै उदयपुर गोल्डकपको फाइनलमा पुगेको कारणले खेलाडीले सोचेजस्तो खेल्न नसकेको बताए । ‘टिम सेट राम्रो भए पनि खेलाडी थकित भएकाले खेल जित्न गाह्रो भयो ।’ उनले भने, ‘दीपक राईले जति खेल्नु पर्ने थियो । त्यति खेल्न सकेनन् ।’