धरान/ धरान नीलो उन्नाइसौं बूढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । आइतबार एन्फा एकेडेमीमा सम्पन्न खेलमा पोखरा–११ बाट ३–० गोलको सहज जित निकाल्न सफल भयो ।

दुई विदेशी खेलाडीसहित चारजना राष्ट्रिय खेलाडीले भरिएको धरानले जित निकाल्न खासै चुनौती मोल्नु परेन् । अण्डर–१९ का रेजिन सुब्बाले १४ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । उनले फ्रिकिक प्रहार विपक्षी गोलपोष्टमा लागेर रिवाउण्ड भएपछि उक्त बललाई नियन्त्रणमा लिँदै गोल गरे । उनको अग्रतालाई २८ मिनेटमा अर्का राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीले फ्रिकिकमार्फत् दोब्बर पारे । ठूलो डी–बक्स नजिकैबाट पाएको फ्रिकिकमा उनी चुकेनन् । विपक्षी रक्षापंक्तिका खेलाडी रमेश मगरले लडाएपछि पाएको फ्रिकिकलाई गोलमा परिणत गरे । खेलमा जादुमयी कौशल प्रस्तुत गर्न नसके पनि उनको फ्रिकिक हेर्नलायक थियो ।’

दोस्रो हाफको २९ मिनेटमा प्रकाशकै क्रसपासलाई बुद्ध चेम्जोङले हेडमार्फत् सुन्दर गोल गरे । धरान पोखरामाथि हावी भएको थियो । ‘पुराना र अनुभवी प्लेयर भएकाले पनि जित सहज भयो ।’ धरानका प्रशिक्षक सुवास केसीले भने, ‘खेल राम्रो भो । खेलाडीहरुले पाएको बललाई सदुपयोग गरे ।’ गोल गर्ने प्रकाश, रेजिन र बुद्धलाई आयोजक धरान फुटबल क्लबले जनही दुई हजार रुपैयाँ प्रदान गर्यो । पोखराका खेलाडीहरुमा अनुभवको कमी देखियो । मिडफिल्ड लाइन केही सवल देखिए पनि फरवार्ड लाइन कमजोर हुँदा पोखरा क्वार्टरबाटै बिदा लियो । ‘पुराना प्लेयरहरु अन्य क्लबमा आवद्ध भएका कारण नयाँ खेलाडीहरु खेलाएका थियौं ।’ फरवार्ड लाइन कमजोर देखिनुको कारण खोल्दै पोखराका प्रशिक्षक सुवास गुरुङले भने, ‘धरानको डिफेन्सलाइन राम्रो थियो । हाम्रोमा स्कोर गर्ने खेलाडीहरु भएनन् ।’ पोखराले दोस्रो हाफको १६ औं मिनेटमा विश्वजित गुरुङले पाएको बललाई विपक्षी गोलरक्षक मनोज प्रधानाङ्गले विफल तुल्याए । लगत्तै ईश्वर बानियाँको पासमा सिन्कमान तामाङको फितलो एक्रोब्याटिक प्रहार गोलरक्षकले बचाए । खेलको २५ मिनेटमा पोखराका अजित गुरुङको प्रहार गोलरक्षकले पञ्च गर्दै बाहिर फालेका थिए । त्यो पोखराको लागि गोल गर्ने सुनौलो अवसर हुन सक्थ्यो ।

धरानले झण्डै आधा दर्जन अवसर खेर फाले । खेलको ४ मिनेटमा कर्नर प्रहारलाई विदेशी खेलाडी पिटर सेगुनको हेड बल माथिल्ला बारमा लागेर डिवाउन्ड भयो । २३ मिनेटमा रेजिन सुब्बाको क्रसपासलाई प्रकाश बुढाथोकीले गरेको प्रहार गोलपोष्टको माथिल्लो बारबाट बाहिरियो । ४० मिनेटमा हेमन्त गुरुङले झण्डै ५० यार्डबाट गरेको प्रहार माथिल्लो बारको नजिकैबाट बाहिरियो । दोस्रो हाफको ४ मिनेटमा वर्षात् गुरुङको पासलाई वन भरसेज वानमा लगेका रेजिनले गोलरक्षकलाई भलि गोलमार्फत् विट गर्न खोज्दा दोस्रो बार नजिकैबाट बाहिरियो ।

खेलको म्यान अफ दी म्याच धरान नीलोका रेजिन सुब्बा घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाए । आज (सोमबार) को खेल सिमरा गोल्डकप विजेता सङ्कटा र सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टबल विजेता एपीएफ काठमाडौंका बीच हुनेछ ।