पथरी/ मोरङको बयरवन–६ स्थित पिनाकल ज्ञान मन्दिर बोर्डिङ स्कुलमा ‘लागूऔषध दुव्र्यसन तथा ट्राफिक नियम’ सम्बन्धी एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पथरीको इलाका प्रहरी कार्यालय र बयरवनको लागूऔषध नियन्त्रण कार्यदलको संयुक्त आयोजनामा बिहीबार विद्यालयका करीब एक सय विद्यार्थीलाई यससम्बन्धी प्रशिक्षण दिइएको हो । लागूऔषध दुव्र्यसनबारे इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजन कार्कीले र ट्राफिक नियमसम्बन्धमा इलाका ट्राफिक प्रहरी कार्यालयका सइ विष्णुप्रसाद तिम्सिनाले सहजीकरण गरेका थिए ।

प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध विकास गरी समाजमा हुने लागूऔषध दुव्र्यसन र गैरकानूनी क्रियाकलापहरूलाई निरुत्साहित गरी अपराधरहित समाजको निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इन्स्पेक्टर कार्कीले बताए । लागूऔषध नियन्त्रण कार्यदलका अध्यक्ष विवेक लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा बयरवन गाविसका सचिव हेमुलाल गौतम पनि उपस्थित थिए ।

इलाका प्रहरी कार्यालय र इलाका ट्राफिक प्रहरी कार्यालयले विभिन्न विद्यालयमा गएर लागूऔषध तथा ट्राफिक नियम पालनालगायतका विषयमा प्रशिक्षण दिने गरेको छ ।