धरान/सिएमजी संकटा उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । [caption id="attachment_30317" align="alignnone" width="600"] एपिएफका खेलाडीहरुलाई छलेर बल अघि बढाउँदै विदेशी खेलाडी मार्टिन्स अजयी । तस्बिरः राजेश शाक्य[/caption] संकटाले रुपन्देही–११ सँग सेमिफाइलनमा भिडन्त गर्ने छ । राज पौडेलको निर्णायक गोलको मद्दतमा संकटा अन्तिम चारको स्थान सुरक्षित गरेको हो । खेलको ३९ मिनेटमा उनी नायक बने । त्यही गोल विभागीय टिम एपिएफ काठमाडौंको लागि भारी बन्यो । सजिन थापाको भली क्रसपासलाई राजले हेडमार्फत जाली चुमाए । संकटा र एपिएफको यस अघि झापा गोल्डकप र सिमरा गोल्डकपमा भेट भएको थियो । झापामा एपिएफले संकटालाई १–० ले पराजित गर्दा सिमरामा संकटाले बदला लिएको थियो । सिमरामा संकटाले एपिएफलाई २–० गोलले पराजित गरेको थियो । बाइ पाएर सिधै क्वाटर खेलेको एपिएफलाई संकटाले १–० ले नै स्तब्ध बनायो । खेलमा एपिएफले तीनवटा सुन्दर अवसरहरु खेर फाल्यो । जसमा विपक्षी गोलरक्षक विनय श्रेष्ठ एपिएफका लागि हावी भए । श्रेष्ठले पहिलो हाफको ४२ मिनेटमा तोप विष्टको प्रहारलाई विफल तुल्याए । तोपले नविन लामाको पासलाई गोलपोष्टको दिशा दिएका थिए । त्यस्तै ५५ औं मिनेटमा श्याम नेपालको प्रहारलाई गोलरक्षक श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ७० मिनेटमा पुनः श्याम नेपालीको प्रहारलाई गोलरक्षक श्रेष्ठले उत्कृष्ट बचाउ गरे । श्यामले अमृत अधिकारीको पासलाई गोलपोष्टको दिशा दिएका थिए । ‘हाम्रो तीन गोल हुने हो । तर, अवसर गुम्यो ।’ एपिएफका प्रशिक्षक कुमार थापाले भने, ‘हाम्रो टिम राम्रो छ । तर, गोल सदुपयोग नहुँदा हारियो ।’ उनले संकटाले पाँचजना विदेशी खेलाडी खेलाएकोप्रति आक्रोस पोखे । उनले थपे, ‘एउटा खेलमा ३ जनासम्म विदेशी खेलाडी खेलाउन पाउने हो । तर, यहाँ पाँचजना खेल्दा पनि आयोजकको प्रतिक्रिया थिएन् ।’ एपिएफले अन्य आधा दर्जन अवसरहरु खेर फाल्यो । सुरुवातको ३० औं मिनेटमा श्याम नेपालीको पासमा रुपक लामाले गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरियो । आक्रामक रुपमा प्रस्तुत भएको दुबै टोलीले अवसरहरु खेर फालेका थिए । संकटाले १७ औं मिनेटमा सुशिल केसीको प्रहारलाई विपक्षी रंक्षापक्तिका खेलाडी मिलन राईले ड्रप गर्दा गोल हुनबाट जोगियो । त्यस्तै ६० औं मिनेटमा सजिन थापाको पासमा सुशिल केसी हेडबलमा चुक्दा गोल गर्ने अवसर खेर गयो । लगत्तै ६१ औं मिनेटमा भुषण सुब्बाको क्रसपासलाई नियन्त्रणमा लिएर सुशिल केसीले गरेको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिन पुग्यो । ६७ औं मिनेटमा विदेशी खेलाडी लवल वोलाकेनले गरेको सुन्दर प्रहार विपक्षी गोलरक्षकले पञ्च गर्दै जोगाए । ६८ औं मिनेटमा कर्नर बलमा लवल बोलाकेन हेड गर्नबाट चुके । ‘खेल ५०–५० थियो । चान्स पाएको बल गोल भयो ।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘टिमले राम्रै खेल्यो । गेम टफ भयो ।’ खेलको म्यान अफ दि म्याच एफिएफका रोहित दङ्गाल घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए । संकटाले हालै सिमरा गोल्डकप जितेकाले पनि केही एडभान्स छ । उसले अवको खेल रुपन्देही–११ सँग यो सिजनमा पहिलो पटक भेट हुँदै छ । अन्तिम दुई स्थानको लागि हुने प्रतियोगितामा दुबै टोली आक्रमक रुपमा प्रस्तुत हुने सम्भावना छ । किनकी रुपन्देही–११ उदयपुर गोल्डकप विजेता टोली हो । आज (मङ्गलबार) को खेल पाहुना टोली युनाइटेड सिक्किम एफसी र विभागीय टोली नेपाल पुलिस क्लव बीच हुने छ ।