धरान/धरान रन पाँचौ नेवा च्यारिटी ८ के रन फागुन १४ गते हुने भएको छ । यो पटक ८ के रनमा देशभरका २२ सय धावकहरु सहभागी हुने आयोजक धरान रन समूहले जनाएको छ ।
[caption id="attachment_30613" align="alignnone" width="386"]
पत्रकार सम्मेलन गरी जानकारी दिँदै आयोजक धरान रन समूह । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
समूहले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १२ वर्ष मुनी, १६ वर्ष मुनी, ३९ वर्ष मुनी र ४० देखि माथि गरी अलग अलग सहभागी गराइने छ । १२ वर्ष मुनीका विजेताले नगद ५ हजार, दोस्रोले ३ र तेस्रोले २ हजार रुपैया प्राप्त गर्ने छन् ।
१६ वर्ष मुनीले पनि ५, ३ र २ हजार रुपैया प्राप्त गर्ने छन् भने ३९ वर्ष मुनीकाले ४० हजार, ३० हजार र २० हजार रुपैया प्राप्त गर्ने समूहका सल्लाहकार एवम् प्रवक्ता गोपाल राईले बताए ।
त्यस्तै ४० वर्ष माथिको भेट्रानले ५, ३ र २ हजार रुपैया प्राप्त गर्ने छन् । धरानका स्थानीय धावक–धाविकाहरु मध्ये पहिलो दोस्रो हुनेलाई आर्कषक पुरस्कार प्रदान गरिने धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले बताए ।
धरानको भानुचौकबाट सुरु हुने प्रतियोगिता पुतलीलाइन, कल्याण चोक, पानी ट्यान्की, गणेशमान चोक, जनपथ हुँदै जिरोपोइन्ट, अमरहाट रेडक्रस भवन, हात्तिसार, विजपुर चोक, पिण्डेश्वर मन्दिर, चिनिया चोक, पुरानो बजार हुँदै भानुचौकमा आएर सम्पन्न हुने छ ।
यो च्यारिटीबाट संकलित रकम विपन्न, जेहेन्दार तथा शारीरिक रुपमा अशक्त बालबालिकाहरुको निम्ति शिक्षामा लगानी गर्ने संस्थापक अध्यक्ष राईले बताए । जसका लागि ‘धरान रन पाँचौं नेवा च्यारिटी रन २०१७ फण्ड’ स्थापना गर्ने तयारी गरिएको छ ।
उक्त फण्डबाट आएको ब्याज रकमले शिक्षामा लगानी गर्ने तयारी रहेको छ । यस अघि पहिलो नेवा च्यारिटी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ अक्षयकोष खडा गरिएको थियो ।
त्यस्तै दोस्रोमा दृष्टि नेपालको ह्यापी होम नामक कार्यक्रमलाई सहयोग गरेको थियो भने तेस्रोमा धरान पोजेटिभ समूहमा रहेका संक्रमित बाललिकाहरुको शिक्षाको लागि खर्च गरिएको थियो । चौथोमा अपाङ तथा असहाय, एकल महिलाहरुलाई सहयोग गरिएको थियो ।
धरान रन समूहले साप्ताहिक शनिबार साढे ३ किलोमिटर रन गराउने गरेको छ । जसमा ३ देखि ६ सय बालबालिका, वृद्धहरु सहभागी हुने गरेका छन् । स्वच्छ धरान र स्वस्थ्य धरान नाराका साथ २०६८ सालमा धरान रन स्थापना भएको हो ।