धरान/सिएमजी सङ्कटा काठमाडौँ उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । संकटा यस अघि बुढासुब्बामा दर्बिलो उपस्थिति जनाइसकेको छ । बुढासुब्बामा संकटाले यस अघि उपविजेता बनेको थियो ।

यस सिजनमा ९ औं खेल खेलिरहेको संकटाले उदयपुर गोल्डकप विजेता रुपन्देहीलाई बुधबारको खेलमा २–१ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । उपाधिका लागि संकटाले आयोजक धरान निलो र विभागीय टिम नेपाल पुलिस क्लवको विजेतासँग उपाधिका लागि स्पर्धा गर्ने छ । पुलिस र धरान निलोबीचको खेल बिहीबार हुँदै छ ।

यस अघि संकटाले पाहुना टोली दुर्गापुर स्टील कलकत्ता र एफिएफ क्लवलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको थियो । रुपन्देहीलाई हराउन संकटाका अनिल गुरुङ काफी बने । उनले व्यक्तिगत २ गोल गर्दै टिमका नायक बने । यता एकमात्रै गोल दीपक राईले गरे । खेलको म्यान अफ दि म्याचसमेत बनेका अनिल गुरुङ घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए । अनिलले खेलको २३ मिनेटमा सजिन थापाको पासलाई गोलमा परिणत गरेका थिए ।

विपक्षी गोलरक्षक पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका दिलीप क्षेत्री बिट भएपछि गोल पोष्टको दिशा दिए । दोस्रो व्यक्तिगत गोल पेनाल्टीमार्फत् गरे । दोस्रो हाफको ३५ औं मिनेटमा विपक्षी टिमका विन्ङ्गर खेलाडी सौभर मगरले ठूलो डिबक्समा दीपेश श्रेष्ठलाई लडाएपछि पाएको पेनाल्टीमा गोलरक्षक क्षेत्रीलाई छक्काउँदै गोल गरे ।

दुबै टिम उस्तै लयमा उत्रिए पनि पहिलो गोलको अवसर संकटाले प्राप्त ग¥यो । ‘हाम्रो रणनीति नै सुरुमा गोल गरेर विपक्षी टिमलाई दवावमा राख्ने थियो ।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘जुन कुरामा हामी सफल भयौं ।’ खेलमा संकटाले सुरुवाती तेस्रो मिनेटमा विदेशी खेलाडी मार्टिन्सले गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए ।

उनले विपक्षी गोलरक्षक विट हुँदा पनि प्रहार गरेको बल भली हुँदा माथिल्लो बार नाघ्यो । लगत्तै चौथो मिनेटमा सुशिल केसीको क्रसपासमा राज पौडेलको हेड गोलपोष्ट नजिकैबाट बाहिरियो । रुपन्देहीलाई केही दवावमा राखे तापनि गोलको अवसरहरु सदुपयोग गर्न नसक्दा संकटालाई अन्तिम क्षणसम्म जितको लागि दवाव झेरिरहनु परेको थियो ।

खेलको २६ मिनेटमा अनिल गुरुङको सटिक पासमा सजिन थापाको हेड चुक्यो । दोस्रो हाफको ११ मिनेटमा विदेशी खेलाडी लावोला वेलाकेनको शसक्त प्रहार माथिल्लो बारमा लागेर रिवाउण्ड भएको थियो ।

लावोलाले खेलको २५ मिनेटमा पाएको फ्रिकिक प्रहार गोलरक्षक दिलिप क्षेत्रीले आफ्नो पक्षमा राखे । द्योस्रो हाफको ३० मिनेटमा सजिन थापाको प्रहारलाई गोलरक्षक क्षेत्रीले सुन्दर पञ्च गर्दै विफल तुल्याए । खेलको इन्जुरी समयमा सजिन थापाको प्रहारलाई गोलरक्षक क्षेत्रीले जोगाएका थिए । ‘खेलाडीहरुले राम्रो खेलेकाले जित निकाल्न सफल भयौं ।

खेल उनीहरुको पनि राम्रो थियो ।’ प्रशिक्षक खड्गीले भने, ‘हामीले सोचेको जस्तो भइदियो ।’ तर, उनले रेफ्रिको निर्णयप्रति आफू सन्तुष्ट नहरेको बताए । उनले थपे, ‘रेफ्रीले रातो कार्ड दिनु पर्ने ठाउँमा आफैले प्रेशरमा खेलाइरहेको थियो । त्यो राम्रो देखिएन् ।’रुपन्देहीले बलको मुभमेन्ट राम्रो बनाए पनि फरवर्ड लाइन कमजोर देखिँदा स्कोर आउन सकेन् । खेलको १५ मिनेटमा नरेनमणी लिम्बूको पासलाई शिव सुवेदीले प्रहारमा ढिलाई गर्दा विपक्षी रंक्षापंक्ति खेलाडीको खुट्टामा बल पुग्यो ।

त्यस्तै १८ मिनेटमा लक्ष्मण रुचालको लामो प्रहारलाई विपक्षी गोलरक्षक विनय श्रेष्ठले जोगाए । खेलको ४३ मिनेटमा पाएको एकमात्रै सुन्दर अवसरलाई रुपन्देहीका दिपक राईले खेर फालेनन् । उनले अमर डंगोलको पासलाई छातीले बल लिँदै दोस्रो बारबाट जाली चुमाएका थिए ।

दोस्रो हाफको १० औं मिनेटमा शिव मुखियाको पासमा लक्ष्मण रुचालको फितलो प्रहारले कुनै उपलब्धी हासिल गरेन् । त्यसपछि रुपन्देहीले खासै मुभमेन्ट बनाउन सकेन् ।रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले खेलाडीहरु उल्टो दवावमा खेलेको बताए ।

‘हाम्रा खेलाडीहरु उल्टो दवावमा खेलेका थिएँ ।’ उनले भने, ‘खेल त फिप्टी–फिप्टी नै हो । उनीहरुले पेनाल्टी पायो । त्यही नै निर्णायक बन्यो ।’ मिड फिल्डका खेलाडीहरु चल्न नसक्दा पनि हारको कारण बनेको उनले बताए । यस अघि रुपन्देहीले काकडभित्ता ट्रेनिङ सेन्टर झापालाई पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको थियो ।