हाँस्य कलाकार दीपाश्री निरौला पछिल्लो समय चर्चामा घेरिएकी छिन् । जसरी उनलाई हास्यक्षेत्रमा सफल हास्यकलाकार भनेर चिनिने गरिन्छ अहिले चलचित्रक्षेत्रमा पनि उनले आफुलाई सफल निर्देशकको रुपमा सावित गराएकी छिन् । नेपाली चलचित्र इतिहासमा नै सर्वाधिक व्यापार गर्न सफल चलचित्रको रुपमा दर्ता भएको चलचित्र ‘छक्का पन्जा’ निर्देशन गरेकी दीपाश्रीको अहिले खुसीको सिमा छैन । केही दिन अगाडी मात्र सय दिन मनाएको चलचित्र ‘छक्का पन्जा’ पछि अब चाँडै उनकै निर्देशनमा नयाँ चलचित्रको निर्माण घोषणा हुँदैछ । नयाँ चलचित्रको स्क्रिप्ट अहिले हास्यकलाकार दीपकराज गिरीले तयार पारिरहेका छन् ।
रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी नायिका दीपाश्री हास्यकलाकार होइन हिरोइन बन्न चाहन्थिन । ‘अग्निपथ’ बाट ठूलो पर्दामा भित्रिएकी दीपाश्री भन्छिन्, ‘म हास्यक्षेत्रमा बाँच्न र जीवन्त हुन चाहें । किनकी नायिकाको एज एकदमै कम छ । तपाई हलीउड/बलीउड पनि हेर्नुस् अझ हाम्रो कलीउडमा त झनै कम छ । म अविरल रुपमा कलाकार भएर बाँच्न चाहें त्यसैले हास्यक्षेत्र रोजेकी हुँ ।’
४० बर्ष नाघिसकेकी अविवाहित दीपाश्री अहिलेसम्म भगवानले नजुराएका कारण विवाह नभएको बताउँछिन् । प्रेम प्रस्ताब त टन्नै आउँछन् होला नी ? भन्ने प्रश्नमा दीपा भन्छिन्, ‘पहिला चाँहि एकदमै धेरै प्रेम प्रस्ताबहरु आउँथे तर अहिले धेरै कम भएको छ । अहिले चाँहि डराउनु भएको जस्तो लाग्यो । अब निर्देशक भई कसरी प्रपोज गर्ने हो, फेरी कट भन्देली भन्ने डर भएर होला ।’ उनले भगवानले जुराए चाँडै विवाह गर्ने पनि बताइन ।
पछिल्लो समय धेरै नेपाली सेलिब्रेटीहरु राजनीतितर्फ लागिरहेको अबस्थामा दीपा भने आफुलाई राजनीति गर्न नआउने बताउँछिन् । उनी अगाडी भन्छिन, ‘अब राजनीतिमा लाग्दिन । म बरु चलचित्रमा राजनीति गर्ने हो । स्क्रिनमा राजनीति गर्ने हो । म राजनीति पढेको मान्छे पनि होइन र मलाई राजनीतिमा खासै चासो पनि छैन ।’ लामो समयदेखी एकसाथ काम गरिरहेका हास्यकलाकार दीपकराज गिरीसँग काम गर्न भने उनलाई अरुसँग भन्दा धेरै कन्फर्ट हुन्छ । ‘मलाई दीपकराज गिरीसँग काम गर्दा सहज महशुस हुन्छ । काम गर्न सजिलो लाग्छ । हामी धेरै बर्षदेखी सँगै काम गरेका कारण दीपक र मेरो आइनअप पनि मिल्छ ।
मेरो सोचाई र उसको सोचाई मिल्ने भएका कारण पनि म दीपकसँग काम गर्न सहज महशुस गर्छु ।’, उनले भनिन् ।टेलिभिजनको पर्दामा होस् वा विज्ञापनमा नै किन नहोस् दीपकराज गिरी र दीपाश्री निरौला श्रीमान-श्रीमती भएर काम गरेका कारण दर्शकहरु भने उनीहरुलाई रियल लाइफमै श्रीमान-श्रीमती सोच्छन् । यो कुरा उनीहरुलाई पनि थाहा छ तर यसलाई सामान्य रुपमा लिन्छिन् दीपाश्री । उनी भन्छिन्, ‘दीपकराज गिरीसँग मेरो विवाह सम्भव नै छैन । दीपकराज गिरी विवाहित मान्छे हो । तर, दर्शकहरुले दीपकराज गिरी र मेरो विवाह भएको छ भन्ने सोच्नु सामान्य हो जस्तो लाग्छ । किनकी धेरै बर्षदेखी हामीसँगै काम गरिरहेका छौ ।’ उनले दीपकराज र आफुलाई यमराजले मात्र छुटाउन सक्ने पनि अन्तर्वार्ताको क्रममा बताइन ।