धरान/ यो सिजनको दोस्रो भेटमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब बुढासुब्बा गोल्डकपमा उपाधीका लागि शनिबार धरानमा भिड्दै छन् । यसअघि पोखरामा भएको आहा रारा गोल्डकपमा सङ्कटाले पुलिसलाई हराएको थियो ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा शनिबार हुने बुढासुब्बा गोल्डकपको फाइलमा नेपाल पुलिस क्लब चौथो पटक उपाधी उचाल्ने तयारीमा छ भने सङ्कटाले उपाधी जिते उसका लागि यो पहिलो हुने छ ।

बुढासुब्बा गोल्डककपमा पुलिसले यसअघि तीन पटक उपाधी उचाली सकेको छ भने चार पटक उप बिजेता बनेको छ । पुलिसले ५९ साल यता बुढासुब्बाको उपाधि जितेको छैन । भने अघिल्लो संस्करणको उपविजेता टिम पुलिस नै हो । यो सिजनका नकआउट प्रतियोगितामा उपाधिविहीन बनेको पुलिस बुढासुब्बाको उपाधी उचाली शून्यबाट जोगिने दाउमा छ भने संकटा यो सिजनमा ह्याट्रिक गर्ने सोचमा मैदानमा देखा पर्ने छ ।

संकटाका यो सिजनमा विकास रनिङ सिल्ड नारायणगढ र सिमरा गोल्डकपको उपाधि हात पारिसको छ भने ५ वटा नकआउट खेलमा सहभागी भएको पुलिस पहिलो पटक फाइनलमा पुगेको हो ।

बुढासुब्बा गोल्डकपको १९ औ संस्करणसम्म पुग्दा ९ औँ पटक फाइनल पुगेको छ । यो सिजनमा मात्रै पुलिसको टिम सम्हालेमा अनुभवि प्रशिक्षक कुमार कटुवालको लागि पनि शनिबारको फाइनल परीक्षाको रुपमासमेत हेरिएको छ । कटुवाटलले टिम सम्हालेपछि पुलिस उपाधिविहीन बनेको छ ।

पूर्व राष्ट्रिय खेलाडी जुमानु राई, भोला सिलवालले बुढासुब्बामा राम्रो प्रर्दशन गरिरहेका तथा अन्य समेत अनुभवि खेलाडी रहेको कारण पनि यो सिजनमा आफ्नो टिम उपाधिविहीन नहुने कटुवालको भनाई छ ।

नेपाल पुलिसको साख जोगाउन पनि फाइनल जित्ने पर्ने दवाव रहेको कारण पनि आफूहरु उपाधी माथि कब्जा जमाउने उनले बनाए । ४–४–२ को फर्मेसनमा मैदानमा आक्रमक रणनितिका साथ उत्रने पुलिसका लागि फरवाड लाईन जुमानु राई र नारयण थापाले सम्हाल्ने छन् । मिडमा भोला सिलवाल रहने छन् ।

आहा रारा गोल्डकपमा पुलिसलाई १ काविरुद्ध २ गोलले पाखा लागएको कारण खेलाडीमा आत्मविश्वास रहेकोले बुढासुब्बाको उपाधी आफूहरुले नै उचाल्ने संकटाका प्रशिक्षक सल्यान खड्गीको विश्वास छ ।

४–४–२ को फर्मेसनमा मैदानमा आक्रमक रणनीतिका साथ उत्रने तयारीमा रहेको संकटासँगै प्रशिक्षक खड्की पनि यो सिजनका नकआआउट प्रतियोगिताको उपाधीमा ह्याट्रिक गर्ने दाउमा छन् । उपाधिमा ह्याट्रिकसँगै बुढासुब्बामा समेत इतिहास बनाउने उनको दाबी छ ।

दुबै प्रशिक्षकले एकले अर्कालाई कम भने आकेका छैनन् । दुवैले फाइनल खेलमा ५०–५० प्रतिशत हुने बताएका छन् । फाइनलमा दुवै टिमको रणनिति पहिले गोल गर्ने नै रहेको छ । त्यसैले आक्रामक रुपमा मैदान प्रवेश गर्दै छन् ।

सुरुमा जसले गोल गर्यो उसैले उपाधी माथि कब्जा जमाउने बलियो आधार पनि छ । पूर्व राष्ट्रिय खेलाडीसँगै अनुभवि खेलाडीसहित मैदानमा उत्रने तयारीमा रहेको पुलिसका लागि ३ विदेशीसहित युवा खेलाडी मैदानमा देखा पर्ने संकटा ठूलै बाधक बन्ने छ । त्यसो त पुलिसले पहिलो खेलमा आयोजक धरान पहेलो, कञ्चजङ्गा फुटबल क्लब भारत र सेमिफाइनलमा उपाधीको दावेदार मानिएको आयोजक धरान फुटवल क्लब निलोलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

संकटाले दुर्गापुर स्टिल क्लव कोलकत्ता, सशस्त्रको एपिएफ र रुपन्देही ११ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

यस्तो छ बुढासुब्बा गोल्डकपको इतिहास

बुढा सुब्बा गोल्डकप २०५५ सालबाट सुरु भएको हो । पहिलो संस्करणमा बेल्गेरिया एस सी कोलकत्ताले उपाधी उच्याल्यो । त्यसपछिका दुई वटा संस्करण तत्कालिन महेन्द्र पुलिस क्लबले उचाल्यो । तीन वटै संस्करणको उपविजेता भने आयोजक धरान फुटबल क्लब नै बन्यो ।

५८ सालमा भने बुढा सुब्बाले नयाँ च्याम्पियन पायो । बंगलादेशको धनमन्ती क्लबले नेपाल पुलिसलाई हराउँदै उपाधी उचाल्यो । ५९ सालमा पनि नेपाल पुलिस कल्बको दबदवा कायम रह्यो । पुलिसले फ्रेण्डस क्लबलाई हराँउदै तेस्रो पटक च्याम्पियन बन्ने सौभाग्य पायो ।

६० सालमा भने फाइनलसम्म नपुगेको मनाङले उपाधी उचाल्यो । मनाङले बुढासुब्बाको उपाधी उचाल्ने क्रममा फाइनलमा पुलिसकै सामाना गर्यो । ६१ सालमा भने जावलाखेल युथ क्लबलाई हराँउदै थ्रि स्टार क्लब बिजयी बन्यो ।

२०६२ सालको संस्करणमा भने अफ्रिकन युनाइटेडले बाजी मार्यो । उसले उपाधी जित्ने क्रममा फाइनलमा आयोजक धरानलाई हरायो । ६३ सालमा फेरि थ्रि स्टारको पोल्टामा उपाधी गयो । थ्रि स्टारको फाइनल भिडन्त अफिकन युनाइटेडसँगै भयो ।

६४ सालमा भने बुढासुब्बाको उपाधी न्यूरोड टिमले उचाल्यो । नयाँ च्याम्पियन बन्न न्यूरोट टिम ९एनआरटी०ले फ्रेण्डस क्ल्बल कुपन्डोललाई पाखा लगायो । ६५ सालमा पुन बुढा सुब्बाको उपाधी थ्रि स्टारले नै उचाल्यो । उप विजेता भने पहिलो पटक नेपाल आर्मी बन्यो ।

६६ सालको संस्करणमा भने उपाधी रानी पोखरी कर्नर टिमले नेपाल पुलिसलाई हराउँदै उपाधी जित्यो । ६७ सालमा भने सात वर्षपछि मनाङले उपाधी हात पार्यो । उसले सहारा क्लब पोखारालाई फाइनलमा निराश बनायो ।

६८ सालमा पुन थ्रि स्टारले बाजी मार्दा मनाङ उप बिजेतामा सिमित रह्यो । ६९ सालमा भने हङ्कङ नेपाली फुटबल एसोसिएसनले बाजी मार्यो । फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी पुगेको थियो । ७० ,७१ र ७२ मा भने क्रमशः अफ्रिकन युनाइटेड, एपीएफ र मनाङले बाजी मारे भने सहारा, मनाङ र पुलिस फाइनलमा चुके ।